काठमाडौँ – रियल म्याड्रिडले स्पेनिस ला लिगामा बार्सिलोनासँगको अग्रतालाई ५ अंकले अगाडि राखेको छ। शनिवार राती एथलेटिको बिलबाओलाई उसैको घरमा १–२ को नतिजा निकाल्ने क्रममा म्याड्रिडले २७ खेलबाट ६५ अंक जोडेको छ।


ADVERTISEMENT


आइतबार राती भेलेन्सियासँग भिड्न लागेको बार्सिलोनाको २७ खेलबाट ६० अंक छ। सन् २०१२ पछि लिग उपाधि जित्ने होडमा रहेको म्याड्रिडका लागि करिम बेन्जेमा र कासेमिरोले गोल गरेका थिए।


ADVERTISEMENT

# # #


निकै तनावपूर्ण यस खेलमा ६५ मिनेटमा बिलबाओका भेट्रान स्ट्राइकर आरिट्ज अडुरिजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। तर, क्रिस्टियानो रोनाल्डोको पासमा कासेमिरोले ३ मिनेटपछि गोल फर्काउदै भ्रमणकारी टोलीलाई जित दिलाए।

यसअघि खेल सुरु भएको २५ मिनेटमा बेन्जेमाको गोलका कारण म्याड्रिडले पहिलो हाफमा ०–१ को अग्रता लिएको थियो। गत अगस्टदेखि आफ्नो घरेलु मैदानमा कुनै खेल नहारेको बिलबाओविरुद्ध रोनाल्डोले मैदानको दायाँ कुनाबाट फ्याँकेको क्रसलाई बेन्जेमाले गोलमा परिणत गरेका थिए।

दोस्रो हाफमा ३६ वर्षीय अडुरिजको गोलका कारण खेल १–१ को बराबरीमा थियो। तर, ६८ मिनेटमा कासेमेरोले गोल फर्काएपछि म्याड्रिड विजयी भयो ।