काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । मतगणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा साँझदेखि सुरु भएको हो ।


ADVERTISEMENT


केहीबेर अघिसम्म तीन हजार ५०० मत गन्दा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले एक हजार ६३४, विजयकुमार गच्छदारले एक हजार ४४३, धनराज गुरुङले एक हजार ४३७, डा चन्द्र भण्डारीले एक हजार २५८, सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्येश्वरी शाहले ११७ मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


मतगणना तीन स्थानमा भइरहेको छ । सोमबार भएको मतदानमा उपसभापति दुई पदका लागि उनीहरुले उम्मेदवारी दिएका थिए । जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन् ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ ।