काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना आज बिहानदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि महामन्त्री पदको मतगणना सुरु गर्ने तयारी रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।


ADVERTISEMENT


महामन्त्रीका दुई सिटका लागि विभिन्न समूहबाट ६ जना प्रतिस्पर्धामा छन् । सभापति शेरबहादुर देउवा समूहबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् । पौडेल सिटौला समूहबाट हुन् । शेखर कोइराला समूहबाट गगन थापा र मीनेन्द्र रिजाल मैदानमा छन् ।


ADVERTISEMENT

# # #


यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन् । शर्मा संस्थापनबाट टिकट नपाएपछि सिंहको प्यानलबाट उठेका हुन् । देउवाले सहमहामन्त्रीमा उठ्न गरेको प्रस्ताव नमानेको उनी शेखरको प्यानलबाट महामन्त्री लड्ने चर्चा पनि चलेको थियो । तर मीनेन्द्र रिजालले ठाउँ खाली नगरेपछि उनी सिंहको प्यानलबाट उठेका हुन् ।

नेत कृष्ण सिटौला गगनलाई हराएर प्रदीपलाई  जिताउने मिसनमा रहेका थिए । मतदान सकिइसकेको र मतगणनाको नतिजा आउँदा सिटौलाको मिसन  सफल होला नहोला त्यो पनि हेर्न बाँकी छ ।

यसअघि सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन् । उपसभापतिमा संस्थापनका पुराना नेता विजय गच्छदार मात्र २ मतले हारेपछि अब महामन्त्रीको नतिजा कस्तो आउला भन्ने कौतुहलता बढेको छ ।