काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा आफुले प्रतिस्पर्धी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा मात्रै नभएर पार्टी भित्र हुर्किएको अराजनीतिक प्रवृत्तिसंग पनि लडाई लडेको बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री समेत रहेका देउवासँग १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका डा कोइरालाले आज विज्ञप्ति जारी गर्दै महाधिवेशनको अवधिमा वर्तमान सभापति देउवासंग मात्रै नभएर पार्टी भित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृति, गलत संस्कृति र संस्कारको विरुद्ध समेत लडेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘पार्टी भित्र रुपान्तरण र परिवर्तनको यो लडाई हामीलाई सहज थिएन । वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टी भित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौ पार्टी भित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान विपरित हुने निर्णय विरुद्ध’, उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै डा. कोइरालाले महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा भए पनि पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश कांग्रेसजन र नेपाली जनताको घरदैलोमा पुर्‍याएको बताएका छन्। पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउनका लागि ऊर्जावान युवालाई लिएर आफू अगाडि बढेको कोइरालाको भनाइ थियो । निर्वाचनमा पराजित भए पनि राजनीति जितेको उनको भनाई छ ।

नेता कोइरालाले ४० प्रतिशत प्रतिनिधिले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति आफू अविचलित रहने उल्लेख गर्दै पार्टीलाई रुपान्तरण र नयाँ ढङ्गले सञ्चालन गर्नका लागि आफ्नो सम्पूर्ण टोली लाग्ने विश्वास व्यक्त गर्दै सभापतिमा पुनः निर्वाचित देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् ।