काठमाडौँ – नेपाली क्रिकेट टोलीका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल सहितका चार खेलाडीले अनुशासनको उल्लंघनको आरोपमा गरिएको कारबाहीको निर्णय पुनर्विचार गर्न नेपाल क्रिकेट संघलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले संयुक्त पत्रकार सम्मेलन गर्दै सबै समस्याहरुलाई समाधान गर्दै खेलका लागि उपयुक्त वातावरण बनाउनु पर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले खेलाडीसंग गरेको प्रतिवद्धता पुरा नगरेको तर उल्टै आफुहरुलाई कारवाही गरेको आरोप लगाए । ज्ञानेन्द्र  मल्लले भने, ‘कप्तान र उपकप्तान हटाउने, सन् २०२२ को सुरुवाती ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय भएको समाचार आए । के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ?’

मल्लले राष्ट्रिय टिमभित्र आफुले गुट बनाएको आरोप निराधार रहेको तर्क गरे । खेलाडीहरुले पाउँदै पाएको म्याच फि नपाएको, भत्ता पहिला भन्दा कम भएको, बिमा, रिह्याब नभएको, त्रिदेशीय सिरिज जितेको प्रोत्साहन स्वरुप पुरस्कारका लागि पहल गर्नुपर्ने लगायतका विषयमा पनि लिखित रुपमा नै ध्यानाकर्षण गराएको उनले बताए ।

क्रिकेटमा देखिएका विवाद समाधानका लागि आफूहरु अहिले पनि तयार रहेको बताउँदै मल्लले यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्नुपर्ने उनले बताए । उनले भने, ‘क्यानले कारबाहीको निर्णयमा पुनर्विचार गरोस् । हामी र हामीजस्ता क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्य अवस्था नबनोस् ।’

ग्रेडिङको मापदण्ड बनाउँदा कप्तान, उपकप्तान र सिनियर खेलाडीसँग परामर्श गर्ने विगतको परम्परा समेत तोडिएको खेलाडीहरुको आरोप छ ।

खेलाडीहरुको अनुबन्धनलाई लिएर आचारसंहिता विपरित मिडियामा बोलेको भन्दै क्यानले बुधबार चार खेलाडीलाई अनुशासनको कारवाही गरेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्दै उनीहरुसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुवाती ६ महिनासम्म क्यानको केन्द्रीय अनुबन्धनमा नराख्ने निर्णय गरेको थियो ।