कपिलवस्तु– विश्व सिमसार सूचीमा सूचीकृत जगदीशपुर तालमा चराको चोरी निकासी बढ्दै गएको छ । स्थानीय निकायको बेवास्ता र ताल व्यवस्थापनको अभावमा जगदीशपुर तालमा जाडोको मौसम बढेसँगै चराको चोरी निकासी बढ्दै गएको हो ।


ADVERTISEMENT


कृत्रिमरुपमा बनाइएको सो तालमा जाडोको मौसममा विभिन्न देशबाट आउने चराको चोरी निकासी बढ्दै गएको स्थानीयवासीले बताएका छन् । चोरी निकासी बढेपछि सरोकारवालालाई पटक–पटक जानकारी गराउँदा पनि चासो नदिएको स्थानीय विश्वराज पाण्डेले बताए ।


ADVERTISEMENT

# # #


साइबेरियालगायतका देशबाट आउने पाहुना चराका साथै दुर्लभ कछुवा, माछासमेत ताल क्षेत्रबाट चोरी निकासी बढिरहेको छ । ताल क्षेत्रको संरक्षणको जिम्मा लिएका विभिन्न सरोकारवाला र स्थानीय तहले समेत चासो नदेखाएको स्थानीयवासीको आरोप छ । विश्व रामसार क्षेत्रमा सूचीमा सूचीकृत यस तालको संरक्षणको नाममा विभिन्न संगठन, सञ्जाल र संस्था गठन भए तापनि प्रभावकारीरुपमा काम गर्न नसकेको स्थानीयवासी प्रदीप थापाले बताए ।

चराको चोरी निकासी बढ्न थालेपछि आफूले सो विषयमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीसँग चोरी निकासी रोक्नका लागि पहल थालेको कपिलवस्तु नगरपालिका– ८ का वडाध्यक्ष शिव वाग्लेले बताए ।

कपिलवस्तु नगरपालिका– ९ निग्लीहवामा रहेको जगदीशपुर ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो तालमा ११८ प्रजातिका चरा, आठ प्रजातिका उभयचर र तीन प्रजातिका सरीसृप पाइन्छ ।