काठमाडौं – विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले यस वर्ष ११ बिलियन डलर कर तिर्ने बताएका छन् । मस्कले सामाजिक संजाल मार्फत आफुले यस बर्ष ११ बिलियन डलर कर तिर्ने जानकारी गराएका हुन् ।


ADVERTISEMENT


मस्कले कति कर तिर्छन् भनेर सामाजिक सञ्जालमा सार्वजनिक बहस भइरहेका बेला उनले आफ्नो जवाफ दिएका हुन् । यस हप्ताको सुरुमा, डेमोक्र्याटिक सिनेटर एलिजाबेथ वारेनले मस्कले तिर्ने करका बारेमा प्रश्न गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


इलेक्ट्रिक कार निर्माता टेस्ला र अन्तरिक्ष कम्पनि स्पेसएक्सका मालिक मस्क यस वर्षको सुरुमा विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सले उनको सम्पत्ति २४३ बिलियन डलर रहेको उल्लेख गरेको छ । जबकि टेस्लाको मूल्य लगभग एक ट्रिलीयन र स्पेसएक्सको मूल्य सय बिलियन डलर रहेको छ । गत हप्ता मात्र मस्कलाई टाइम म्यागजिनको वर्ष व्यक्ति घोषित गरिएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेन अति धनीहरूमा कर बढाउने नीति ल्याइरहेका छन् । यस सम्बन्धि बिल अहिले अमेरिकी काँग्रेसमा रोकिएका छन् । सिनेटर वारेन लगायत केही सिनेटरहरूले अमेरिकाका धनी नागरिकहरूको आम्दानीमा मात्र नभई तिनीहरूको सेयर जस्ता सम्पत्तिहरूको बढ्दो मूल्यमा पनि कर लगाउने विचारलाई समर्थन गरेका छन् ।

अमेरिकाका धेरै धनी नागरिकहरूले प्रत्यक्ष कर योग्य तलब लिँदैनन् । यसको सट्टा, तिनीहरूले आफ्नो सम्पत्ति सेयर र अन्य लगानीहरूमा राख्छन्, त्यसपछि ती सम्पत्तिहरूलाई संपार्श्विक रूपमा प्रयोग गरेर ऋण लिन्छन् ।

मस्कले सिनेटर वारेनको ट्विटको जवाफ दिँदै भनेका छन्, यस वर्ष इतिहासमा कुनै पनि अमेरिकी भन्दा बढी कर तिर्ने छ । पछिल्ला केही हप्ताहरूमा, मस्कले टेस्लाको लगभग १४ बिलियन डलर मुल्य बराबरका शेयरहरू बेचेका छन्, जसलाई उनले आफ्नो कर दायित्वहरू पूरा गर्न प्रयोग गर्ने बताएका छन् ।