काठमाडौँ – प्रमुख प्रतिपक्षि नेकपा एमालेको बिरोधकाबीच प्रतिनिधिसभा बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ ।


ADVERTISEMENT


बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो । त्यसअघि बैठक सुरुहुनेबितिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।


ADVERTISEMENT

# # #


एमालेले संसद्को अघिल्लो अधिवेशनदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै संसद्मा अवरोध गर्दै आएको छ । एमाले सांसदहरुले बैठकमा विरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावलीमा अदालतमा विचराधीन विषयमा छलफल हुननसक्ने व्यवस्था रहेकोतर्फ पटक–पटक ध्यानाकर्षण गराउँदै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।

उनले जनताका बिषयहरुलाई सदनमा राख्न अनुरोध गरेपनि एमालेका सांसदहरुले बिरोध कायमै राखेपछि कार्यसूची अघि बढाइएको थियो ।

त्यसलगतै दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त दुवै अध्यादेशलाई पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक यही पुस ७ गते अपराह्न १ बजे बस्नेछ ।