काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार भुपेन्द्रसिंह थेबेले निर्वाचनमा आफूलाई विश्वास गरेर मतदान गर्ने १ हजार ३८२ जना महाधिवेशन प्रतिनिधिप्रति हार्दिक आभार व्यक्त गरेका छन्। निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि कांग्रेस रूपान्तरण र समृद्ध नेपाल निर्माणको अभियानबाट पछि नहट्ने उनले स्पष्ट पारेका छन्।
महाधिवेशनपछि आफ्नो धारणा सार्वजनिक गर्दै थेबेले निर्वाचनको हारजितलाई राजनीतिक यात्राको अन्तिम निष्कर्षका रूपमा लिन नहुने बताएका छन्। उनका अनुसार पार्टीलाई समयअनुकूल रूपान्तरण गर्दै युवा र अग्रज पुस्तालाई एकताबद्ध बनाएर अघि बढ्नु नै अहिलेको आवश्यकता हो।
“नेपाली कांग्रेस बदल्ने अभियानमा हारजितलाई मात्र सबै कुरा मान्न सकिँदैन। हाम्रो पुस्ताले कांग्रेससँगै समृद्ध देश निर्माण गर्ने संकल्प लिएको छ। यो अभियानमा मेरो प्रतिबद्धता र सक्रियतामा कुनै कमी आउने छैन,” थेबेले भने।
उनले आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरू, देश तथा विदेशमा रहेका आफन्त, शुभचिन्तक र सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, यसपटक मत नदिए पनि आगामी दिनमा अझ मेहनत गरेर संगठन निर्माणमा लाग्न प्रेरित गर्ने सम्पूर्ण प्रतिनिधिप्रति सम्मान व्यक्त गरेका छन्।
युवा र अग्रज पुस्तालाई जोड्ने अभियानमा निरन्तर लाग्ने
पार्टीले आह्वान गरेको समयमा युवा र अग्रज पुस्तालाई एकताबद्ध गर्दै देश, जनता र पार्टीका लागि योगदान पुर्याउने उद्देश्यले आफू उम्मेदवार बनेको थेबेले बताएका छन्।
उनले राजनीतिमा पुस्ताबीच प्रतिस्पर्धा र दूरी बढाउनेभन्दा पनि युवाको ऊर्जा तथा अग्रजको अनुभवलाई एकीकृत गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्। कांग्रेसलाई बदल्ने अभियान कुनै एक व्यक्ति वा पदमा सीमित नभई साझा संकल्प भएको उनको भनाइ छ।
निर्वाचनको परिणामलाई सिकाइका रूपमा लिँदै थप सक्रिय हुने प्रतिबद्धता
मतपरिणामले आफूलाई निर्वाचित गराउन नसके पनि १५औँ महाधिवेशन आफ्नो राजनीतिक जीवनका लागि महत्त्वपूर्ण र अविस्मरणीय अनुभव बनेको थेबेले बताएका छन्।
निर्वाचनबाट प्राप्त अनुभव, प्रतिनिधिहरूको सुझाव र विश्वासलाई आगामी दिनमा संगठन निर्माणको आधार बनाउने उनको भनाइ छ। उनले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्दै नेपाली कांग्रेस र देशप्रतिको आफ्नो कर्तव्य अझ दृढताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“मैले गरेको प्रतिबद्धताबाट पछि हट्ने छैन। नेपाली कांग्रेस र देशप्रतिको जिम्मेवारीलाई अझ दृढताका साथ पूरा गर्नेछु। पद प्राप्त गर्नु मात्र मेरो उद्देश्य होइन, पार्टी रूपान्तरण र समृद्ध नेपाल निर्माणको अभियानमा निरन्तर योगदान पुर्याउनु मेरो प्राथमिकता हो,” थेबेले भने।
निर्वाचनमा प्राप्त मतलाई आगामी राजनीतिक यात्राको जिम्मेवारी र प्रेरणाका रूपमा लिँदै थेबेले युवा पुस्ताको सहभागिता, पुस्तागत एकता र पार्टी रूपान्तरणको अभियानलाई निरन्तरता दिने सन्देश दिएका छन्।






























