राँझा – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । समाजवादी प्रेस सङ्ठन बाँकेले आज कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकतावद्ध बनाएर लैजाने उल्लेख गरे ।


ADVERTISEMENT


नेता नेपालले एमसीसीका बारेमा सत्तारूढ दल र अन्य दलसँग छलफल भइरहेको बताउँदै एमसीसीकै कारण सत्ता गठबन्धन नतोडिने उल्लेख गरे । उनले देशको हितमा हुने हरेक सम्झौतालाई समाजवादीले सहर्ष स्वीकार्ने भए पनि आर्थिक विकासको नाममा अन्यथा गर्न खोज्ने कुनै पनि परियोजना स्वीकार गर्न नसकिने बताए ।


ADVERTISEMENT

# # #


संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरुले विद्रोह गरेको जनाउँदै उनले नेकपा (एमाले)प्रति लक्षित गर्दै प्रतिगामीलाई सफल हुन नदिने दावीसमेत गरे । नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति जनलहर बढ्दै गएको दाबी गर्दै नेपाली जनताको विश्वास जित्न आफू लागेको उनको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) पार्टीका काम व्यवस्थित गर्दै पालिका तथा जिल्लामा कमिटी गठन भइरहेको चर्चा गर्दै उनले आगामी चुनावमा आफूले विजय प्राप्त गर्ने गरी काम गरेको बताए।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेका उपसचिव प्रमोद धिताल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । बिहीबार बाँकेको कोहलपुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले धिताललाई पार्टी प्रवेश गराएका हुन् ।