काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट राजीव विक्रम शाह कर्णाली प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदमा भारी मतसहित निर्वाचित भएका छन्।

निर्वाचित भएपछि शाहले आफूलाई विश्वास गरेर विजयी गराउने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, अग्रज नेता, युवा साथी तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।


ADVERTISEMENT

# #


शाहले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी पार्टीप्रतिको साझा विश्वास, एकता र भरोसाको परिणामका रूपमा लिएका छन्। उनले आफूलाई प्राप्त मत र समर्थनलाई महत्वपूर्ण जिम्मेवारीका रूपमा आत्मसात् गर्दै नेपाली कांग्रेसको रूपान्तरण, संगठन सुदृढीकरण र युवा पुस्ताको नेतृत्व विकासमा इमानदारीपूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

लामो ऐतिहासिक विरासत बोकेको नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएका असन्तुष्टिलाई सम्बोधन गर्दै पार्टीलाई थप एकताबद्ध, गतिशील र जनमुखी बनाउनुपर्नेमा शाहले जोड दिएका छन्। पार्टीभित्र सबै विचार, पुस्ता र समूहलाई समेट्दै अघि बढ्नु आजको आवश्यकता रहेको उनको भनाइ छ।


ADVERTISEMENT

#
#


सबैभन्दा धेरै जनताको विश्वास प्राप्त गरेको पार्टीका रूपमा नेपाली कांग्रेसको नीति देशको सर्वाङ्गीण विकास र राष्ट्रिय हितमा उपयोग हुनुपर्नेमा जोड दिँदै शाहले पार्टीको झण्डा, चुनाव चिह्न र ऐतिहासिक पहिचानको रक्षा गर्दै संगठनलाई थप सशक्त बनाउनुपर्ने सन्देश दिएका छन्।

उनले आफूलाई विश्वास गरेर साथ दिने सम्पूर्ण प्रतिनिधि तथा शुभेच्छुकको भरोसालाई व्यवहारमा उतार्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। पार्टीभित्रको एकता बलियो बनाउँदै जनताको अपेक्षाअनुसार कांग्रेसलाई रूपान्तरण गर्ने अभियानमा आफ्नो भूमिका प्रभावकारी बनाउने उनको प्रतिबद्धता छ।

“यो विजय मेरो मात्र होइन, हामी सबैको साझा विश्वास र एकताको विजय हो,” शाहले आफ्नो आभार सन्देशमा भनेका छन्।

शाहको विजयसँगै कर्णाली प्रदेशको भूगोलबाट नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गर्ने अवसर थप सशक्त बनेको छ। पार्टीको ऐतिहासिक विरासतलाई जोगाउँदै बदलिँदो समय र जनताको अपेक्षाअनुसार संगठनलाई अघि बढाउनु उनको आगामी कार्यकालको महत्वपूर्ण जिम्मेवारी हुनेछ।