काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले साइबर तथा वित्तीय अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारले विशेष पहल गरिरहेको बताए । प्रधानमन्त्री शाहले नेपाल प्रहरीको सहकार्यमा इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
७१औँ प्रहरी दिवस, २०८३ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले पछिल्लो समय बढ्दै गएको वित्तीय तथा साइबर अपराध नियन्त्रणमा सरकार गम्भीर रहेको बताए ।
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहद्वारा ७१औँ प्रहरी दिवस, २०८३ का अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा दिइएको शुभकामना सन्देशको पूर्णपाठ
माननीय गृहमन्त्रीज्यू,
विशिष्ट अतिथिहरू,
सुरक्षा निकायका प्रमुखहरू तथा प्रहरी कर्मचारीहरू,
कूटनीतिक नियोग तथा विकास साझेदारका प्रतिनिधिहरू,
अमर प्रहरीका परिवारजन र सञ्चारकर्मी मित्रहरू लगायत उपस्थित सम्पूर्णमा नमस्कार ।
राष्ट्रको सेवा गर्दागर्दै हालैको भोटेकोशी–त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गर्नुभएका प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। कर्तव्य निर्वाहका सिलसिलामा घाइते र अशक्त हुनुभएका प्रहरीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। स्थापनाकालदेखि अनेकौँ उतारचढाव पार गर्दै प्रहरी संगठनलाई यहाँसम्म ल्याउन योगदान पुर्याउनु हुने सम्पूर्ण पूर्वप्रहरीहरूप्रति आभार व्यक्त गर्दछु।
हामी “विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी” भन्ने नाराका साथ ७१औँ प्रहरी दिवस मनाइरहेका छौँ। यस अवसरमा विमोचन गरिएको “पुलिस मिरर २०२६”ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासँग जोड्ने र संगठनको सम्झनालाई ताजा राखिरहने अपेक्षा छ।
सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने नेपाल प्रहरीलाई आगामी दिनका सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ। यसका लागि नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। प्रहरी कर्मचारी, तिनका परिवार, सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको छ।
पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर छ। यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैंक, इन्टरनेट र टेलिकम सेवाप्रदायक तथा डिजिटल वालेटहरूलाई एक ठाउँमा ल्याई नागरिकका गुनासा थप प्रभावकारी ढंगले सम्बोधन गर्ने व्यवस्था गरिँदैछ। साथै एआई, एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट र इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर स्थापनाको तयारी भइरहेको छ।
यतिबेला नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्रहरू र अन्तर्राष्ट्रिय विकास साझेदारहरूलाई पनि सम्झन चाहन्छु। साथै यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
देशको आन्तरिक शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी निरन्तर खटिरहेको छ। राष्ट्रसेवकहरुको असली परीक्षा संकटका बेला हुन्छ। संकटको घडीमा हाम्रो धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनले नै जुनसुकै संकट टार्न मद्दत गर्छ।
अन्त्यमा, प्रहरी दिवस २०८३ तथा आसन्न बडादशैँको अवसरमा देश, विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरुमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
धन्यवाद।
असोज ३०, २०८३



























