सृजना मगर, काठमाडौँ– झण्डै विगत दुई वर्षदेखि नै हामी विश्व महामारीको रुपमा फैलिएको कोरोनाको डर त्रासमा बाँचेका छौँ । यसैक्रममा दोस्रो पटकको कोरोनाको छाल सकिएर नेपालमा भर्खरै मात्र तेस्रो लहरको शुरुआत भएको छ । यस शुरुआतीसंगै यसबाट सङ्क्रमित भएका वा नभएका दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञहरुको भनाई छ ।


ADVERTISEMENT


पाटन मानसिक अस्पतालका निर्देशक अनन्त अधिकारी कोरोना लहरको समयमा मानसिक समस्याका बिरामी देखिनु नौलो नरहेको बताउँछन् । यसअघिको कोरोनाको पहिलो र दोस्रो लहरको शुरुआती र त्यस अवधिभर अझ विशेषगरी हरेक पटक कोरोना संक्रमितको संख्या बढेको समयमा मानसिक समस्याका बिरामी संख्यामा समेत वृद्धि देखिने गरेको उनको अनुभव छ ।


ADVERTISEMENT

# # #


यस समयमा धेरैजसो बिरामी कस्ता समस्या बोकेर आउँछन् त? भन्ने प्रश्नमा उनी भन्छन्, ‘यस समयका बिरामीहरु विशेषगरी ओसिडी एवम् एन्जाइटीका समस्याहरु लिएर बढि आउने गरेको पाइन्छ ।’ उनका अनुसार, यसैकारण अधिकांश व्यक्तिहरु अल्कोहोलको लतमा फस्ने गरेको समेत पाइएको छ । यसको अलवा अस्पताल आउन नसक्ने र पहिलेदेखि नै मनोरोगको शिकार भएका बिरामीमा पुनः सोहि समस्या दोहोरिने गरेको समेत पाइएको डा. अधिकारीले बताए ।

डा. अधिकारीका अनुसार, कोरोनाका कारण व्यक्तिमा साझा रुपमा देखिने गरेका समस्याहरु निम्न रहेका छन्ः

–बिना कारण डर लाग्ने, आत्तिने
– सामान्य रुघाखोकीमा पनि कोरोना संक्रमण हो कि भन्ने सोचाई आउने
–निन्द्रा र भोकको सन्तुलन बिग्रिने
–छटपटि हुने,
–बारम्बार कोरोना परीक्षण गराउन मन लाग्ने/ गराउने
–एकपटक हात धोइसकेपछि पनि बारम्बार हात धोइरहन मन लाग्ने
–भीडभाडमा जान डर लाग्ने ।

वातावरणीय कारक तत्वका कारण देखापर्ने यस्ता समस्या निराकरण एवम् न्यूनिकरणका लागि के गर्ने? भन्ने विषयमा बोल्दै उनी भन्छन्, ‘यस्ता समस्या देखा नपरोस् भन्नका लागि सबैभन्दा पहिले आफुलाई लागेको यस्ता भावना आफ्ना नजिकका साथीभाई वा अन्य व्यक्तिसंग सेयर गर्नुपर्छ ।’ यस्तै, लागुपदार्थ सेवन कुनै पनि समस्याको समाधान होइन भन्ने कुरालाई मनन गर्दै यसबाट टाढै रहि औषधी सेवन गरिरहेका व्यक्तिहरुले त्यसैलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ ।

यसैगरि, यस्ता व्यक्तिमा विशेषगरी एक्लोपनको समयमा दिमागमा नकरात्मक कुराहरु बढि खेल्ने भएकाले भर्चुअल्ली रुपमै भएपनि आफु कुनै पनि काममा संलग्न रहिरहनुपर्ने उनले बताए । यस्तै, त्यस्ता व्यक्ति सकभर अनावश्यक समाचारबाट टाढै रहने वा नभए जानकारीका लागि विश्वासिलो स्रोतबाट दिनमा एकपटक मात्रै समाचार सुन्ने र आवश्यकता अनुसार, व्यक्तिले मनोविद् तथा परामर्शदात्ताको सहयोग समेत लिन सकिने डा. अधिकारी बताउँछन् ।