महेन्द्रनगर– कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका सङ्क्रमितलाई यहाँको होल्डिङ्ग सेन्टरमा राख्ने प्रवन्ध मिलाइँदै छ ।


ADVERTISEMENT


सरकारले गत माघ दुई गते होल्डिङ्ग सेन्टर सञ्चालन, जनशक्ति व्यवस्थापन लगायतका जिम्मेवारी प्रदेश सामाजिक विकास मन्त्रालयलाई दिएपछि कार्यविधि बनाएर होल्डिङ्ग सेन्टर सञ्चालनमा ल्याउने तयारी थालिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले गड्डाचौकीमा कोरोनाको परीक्षण दिनहुँ भइरहेको बताए । ‘वडा कार्यालयको सिफारिसमा लक्षण नदेखिएका सङ्क्रमितहरुलाई होम आइसोलेसनमा पठाउने गरिएको छ’, प्रजिअ पाण्डेले भने, ‘वडामा पनि स्वास्थ्यकर्मीहरुले सङ्क्रमितको निगरानी गर्ने गरेका छन् ।’ मुख्यमन्त्री वा प्रदेश सामाजिक विकास मन्त्रीको नेतृत्वमा कार्यविधि बनाएर होल्डिङ्ग सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रायलले सबै पालिकालाई २५ बेडको आइसोलेसन बनाउन पत्राचार गरेपनि अधिकांशले वास्ता गरेको देखिदैन ।

तर कञ्चनपुरमा बेलौरी नगरपालिकाले ५० बेडको आइसोलेसन वार्ड बनाएको खबर आएको प्रजिअ पाण्डेले जनाए । यहाँको सालघारीमा होल्डिङ्ग सेन्टर निमार्णको जिम्मेवारी पाएको हनुमान कन्र्ट«क्सनका प्रतिनिधी लक्ष्मण सापकोटाले निमार्ण अन्तिम चरणमा पुगेको बताए ।

‘एक हजारमध्ये ५५६ बेड तयार भइसकेका छन् । अरु सामान आएर काम हुनुका साथै अब निर्माण अन्तिम चरणमा पुगेपनि आर्थिक कारणले ढिलाइ भएको छ’, उनले सुनाए । सरकारले रकम निकास नगर्दा चार महिनादेखि काम गरेको रकम नपाएको उनको भनाई छ । ‘२९ करोड २४ लाख रुपैँयाको ठेक्का भएपनि काम सकिन लाग्दासम्म रु १५ करोड मात्रै पायौं । गत असार १६ गतेबाट निर्माण सुरु गरिएको थियो’, उनले बताए ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकलपर्सन जनक कुवँरले पनि जिल्लाभरि खोप अभियान सञ्चालन गरिरहेको बताउँदै भने, ‘ बालबालिकाको दोस्रो मात्रा बाहेक सबै खोप यहाँ मौज्दात छ । सरकारको निर्देशन अनुसार पालिकाहरुमा धमाधम खोप अभियान सञ्चालन हुँदैछ ।’

स्वास्थ्य कार्यालयसँग कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन, भेरोसिलसहितका खोप गरेर करिब ४५ हजार मात्रा मौज्दात रहेको बताउँदै उनले भने, ‘भारतबाट आउनेहरुलाई गड्डाचौकीमा रहेको होल्डिङ्ग सेन्टरमा दिनहुँ खोप लगाइरहेका छौं । कोरोना बढेसँगै नाकामा पनि खोप लगाउनेहरुको सङ्ख्या बढिरहेको छ ।’

यहाँको महाकाली प्रादेशिक अस्पतालमा कोरोनाको गम्भीर लक्षण देखिएका एक जनाको उपचार भइरहेको छ । सङ्क्रमित देखिएकाहरुलाई गड्डाचौकीबाट अस्पताल पठाइने गरेको भएपनि लक्षण नहुनुका साथै अवस्था सामान्य हुँदा प्रक्रिया पुर्‍याएर होम आइसोलेसनमा पठाउने गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । रासस