काठमाडौं – सरकारले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट थप गरेको छ । चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसलगायतका कार्यक्रममा गत वर्षको तुलनामा सिट संख्या वृद्धि गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले ८४ वटा शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी कुल ९ हजार ६९१ सिट निर्धारण गरेको आयोग स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# #


यस वर्ष सबैभन्दा बढी बीएस्सी नर्सिङमा २१० सिट थप गरिएको छ । त्यस्तै, एमबीबीएसमा ११० र बीएमएसमा ९८ सिट वृद्धि गरिएको छ ।

एमबीबीएसतर्फ कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पहिलोपटक ५० सिट निर्धारण गरिएको छ । यससँगै विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने बाटो खुलेको छ ।


ADVERTISEMENT

#
#


त्यसैगरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेनाद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप गरिएको छ । यी तीन संस्थामा थपिएका सिट जोड्दा एमबीबीएसमा कुल ११० सिट वृद्धि भएको हो ।

आयोग स्रोतका अनुसार यस वर्ष सरकारी शिक्षण संस्थाको क्षमता विस्तारलाई प्राथमिकता दिइएको छ । निजी मेडिकल कलेजको सिट संख्या भने यथावत् राखिएको छ ।

सिट निर्धारणका लागि ९० वटा शिक्षण संस्थाले स्वमूल्यांकन फारमसहित आवेदन दिएका थिए । ती संस्थाको भौतिक पूर्वाधार, शिक्षक तथा अन्य जनशक्तिको अवस्था र आवश्यक मापदण्डबारे अनुगमन गरी प्राप्त प्रतिवेदनका आधारमा ८४ वटा संस्थाको सिट निर्धारण गरिएको हो ।

शिक्षण संस्थाले माग गरेकै आधारमा सिट स्वीकृत नगरिने भन्दै आयोगले उपलब्ध पूर्वाधार, जनशक्ति र अनुगमन प्रतिवेदनलाई मुख्य आधार बनाएको जनाएको छ ।

चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा सिट वृद्धि हुँदा आगामी शैक्षिक सत्रमा विद्यार्थीका लागि अध्ययनका अवसर विस्तार हुने अपेक्षा गरिएको छ ।