काठमाडौँ – पुत्रशोकमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले समवेदना दिएका छन् ।


ADVERTISEMENT


दाहाल निवास लाजिम्पाटमा पुगेर देउवा र ओलीले दाहालसहित परिवारजनमा समवेदना प्रकट गरेका छन् । प्रेस संयोजक चेतन अधिकारीका अनुसार अध्यक्ष ओलीले पुत्र प्रकाश दाहालको निधनले आफू र आफ्नो पार्टी मर्माहत भएको बताउँदै धैर्यधारण गर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


ओलीले दाहाल पत्नी सीतालाई पनि विभिन्न घटनाहरु उल्लेख गर्दै शोकलाई शक्तिमा बदल्न भनेका थिए ।

ओलीसहित उनकी पत्नी राधिका र वरिष्ठ नेता माधवकुमार नेपाल समवेदना पत्रसहित दाहाल निवास पुगेका थिए ।

दाहालपुत्र प्रकाशको हृदयघातबाट आइतबार बिहान निधन भएको थियो ।

चुनावी अभियान नरोकिने

वाम गठबन्धनले शोकका बीच पनि चुनावी अभियान नरोक्ने भएका छन् । ओली र दाहालले संयुक्तरुपमा गर्ने भनिएका सबै कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले बताए ।

मंगलबार चितवनमा हुने कार्यक्रममा दाहाल पनि उपस्थित हुनेछन् । तर, सम्बोधन भने माओवादीको तर्फबाट नेता रामबहादुर थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

चुनावी सुरक्षा बलियो बनाउन प्रधानमन्त्रीलाई आग्रह

समवेदना दिन पुगेकाबेला जम्काभेट भएका प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीले चुनावी सुरक्षा मिलाउन आग्रह गरे । उनले घटनामा भएको भौतिक क्षतिको क्षतिपूर्ति दिन पनि आग्रह गरेका छन् ।