काठमाडौँ– नेपालको प्रमुख अनलाइन बजार, दराज नेपालको प्रबन्ध निर्देशक(एमडी)मा पहिलो पटक महिला नियुक्त भएको छ । दराज नेपालमा आँचल कुँवर पहिलो महिला निर्देशकको रुपमा नियुक्त भएकी हुन् ।


ADVERTISEMENT


अलिबाबा समूहको लगानी रहेको दराज कम्पनीका सीईओ बियार्के मिक्केलसेनले लिन्क्डइनमार्फत् कुँवरको नियुक्ति घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाली जनताका लागि विश्वस्तरीय अनलाइन सपिङ अनुभव सृजना गर्ने धेरै प्रतिभाशाली पेशेवर समूहको नेतृत्व गर्ने सो अवसरको लागि आफुलाई विशेषाधिकार र सम्मानित महशुस गरिरहेको जनाउँदै नव नियुक्त निर्देशक कुवँरले भनिन्, ‘नेपाली ई–कमर्स उद्योगमा दराजको द्रुत वृद्वि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिन्छ । यसरी म दराज नेपाललाई घरायसीसंगै सबै ग्राहकहरुको आवश्यक किनमेलका लागि वान–स्पट समाधानको रुपमा स्थापित गर्न पाउँदा निकै उत्साहित पनि छु ।’ दराजको माध्यमबाट आफ्नो मजबुत मुल्य तथा वाणिज्य शक्तिमार्फत आफ्नो समुदाय उत्थान गर्ने उद्देश्यका साथ अघि बढ्ने उनको भनाई छ ।

नेपालमा जन्मिएकी कुवँरले कार्लसन स्कूल अफ म्यानेजमेन्टबाट एमबीए र सेन्ट क्लाउड स्टेट युनिभर्सिटि, मिनेसोटाबाट गणित तथा अर्थशास्त्रमा बीएस गरेकी छन् । १३ वर्षभन्दा बढी युएस कर्पाेरेट क्षेत्रमा व्यतीत गरेकी उनीसंग कार्लसन वागनलिट ट्राभल(सीडब्लूटी) तथा ई–कमर्स अग्रगामी,अमेजोनजस्ता अग्रणी कम्पनीहरुमा काम गरेको अनुभव समेत छ । जहाँ उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब तथा इजिप्टजस्ता नयाँ देशहरुमा कम्पनी स्थापनाका निमित्त महत्वपूर्ण भुमिका निर्वाह गरेकी थिइन् ।

यस्तै, उनको नियुक्तसंगै दराज सेवा प्रवाहित देशहरुमा हाल स्वदेशी एमडीहरु रहेका छन् ।