हुम्ला – हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका–१ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । करिब तीन महिनाअघि स्थापना भएको प्रहरी पोष्टद्वारा नागरिकलाई सहज भएको छ ।


ADVERTISEMENT


छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुँदा उक्त क्षेत्रमा प्रहरीको माग भएपछि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए । उनका अनुसार तुम्चाको बालुकुनामा अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो । धेरै वर्षअघिदेखि स्थानीयवासीको माग अहिले सम्बोधन भएको छ ।


ADVERTISEMENT

# # #


यस क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना भएदेखि अब शान्ति सुरक्षा कायम गर्न सहज भएको बताइएको छ । हाललाई भाडाको घरमा प्रहरी पोष्ट सञ्चालनमा आएको छ ।

पोष्टको एक वर्षको घरभाडा गाउँपालिकाले व्यहोर्ने भएको छ । हाल पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० प्रहरी कार्यरत छन् । यसअघि उक्त स्थानमा प्रहरीले गस्ती गर्दै आएको थियो ।

गस्तीमा जान एक दिन पैदल लाग्ने गर्छ । अब प्रहरी पोष्ट स्थापना भएपछि जनता र सुरक्षाकर्मी दुवैलाई सहज हुनेछ । उक्त अस्थायी प्रहरी पोष्टले हाल सर्केगाड र अदानचुली गाउँपालिकालाई केन्द्रित गरेको छ । रासस