काठमाडौं – मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन् । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले सडक विभागको ध्यानाकर्षण गराएको हो ।


ADVERTISEMENT


गत असार १ गतेको मेलम्ची बाढीले कटान गरेको मेलम्ची–१३ फटकशिलास्थित रातो पहिरो, मेलम्ची पाँचपोखरी सडक र फड्केश्वर छापभञ्ज्याङ सडकको मर्मतसम्भार तथा सडकले गरिरहेको कामका बारेमा जानकारी लिइएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


भेटका क्रममा सडक विभागका उपनिर्देशक प्रभातकुमार झाले तीन दिनभित्र लागत स्टिमेटसहित मेलम्ची खाल्डेखोला सडक र रातो पहिरोको रिपोर्ट सडक विभागलाई बुझाउन सडक डिभिजन कार्यालय चरिकोटलाई निर्देशन दिएका छन् । त्यस्तै उनले फड्केश्वर– छापभञ्ज्याङ सडकमा रु १३ करोड विनियोजित रकम काठमाडौँ डिभिजन र चरिकोट डिभिजनको भएकाले छिट्टै समन्वय गरेर निर्णय गर्नेसमेत जानकारी दिए ।

साथै बैठकमा मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले मेलम्ची क्षेत्रमा पाँचवटा पक्की पुल आवश्यक रहेको बताएका थिए । हिउँदमा अस्थायीरूपमा आवतजावत गरेको भए पनि बर्खा लागेपछि समस्या हुने अर्यालले सडक विभागलाई जानकारी गराएका थिए । सडक विभागले भने फास्टट्रयाकमार्फत बोलपत्र आह्वान गरी काम अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेको धितालले जानकारी दिए । अब छिट्टै सडक मर्मत तथा स्तरोन्नतिको काम अगाडि बढ्ने धितालले विश्वास व्यक्त गरेका छन् । रासस