काठमाडौं – उपत्यकाको बजारमा सिटामोलको भण्डारण पर्याप्त नभए पनि अभाव भने नभएको पाइएको छ । सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र सुरुको अवस्थाभन्दा अहिले धेरै सहज भएकाले अबको तीन दिनभित्र सिटामोल सबै ठाउँमा छ्याप्छ्याप्ती पाइने भनाइ उत्पादकहरूको छ ।


ADVERTISEMENT


उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले आ–आफ्नो जिल्लामा गर्नुभएको अनुगमनमा सिटामोलको अभाव नभएको पाइएको हो । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पछिल्ला चार÷पाँच दिनदेखि बजारमा सिटामोलको अवस्थाबारे अनुगमन गर्दा सञ्चारमाध्यमबाट बाहिरिएको हल्ला यथार्थ नभएको दाबी गरे।


ADVERTISEMENT

# # #


ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले मङ्गलबार ललितपुरका विभिन्न ठाउँमा अनुुगमन गर्ने क्रममा सिटामोल नै नपाउने अवस्था नरहेको बताए । मङ्गलबार पाटन, सुमेरु, अल्कालगायतका अस्पताल र मङ्गलबजारका फार्मेसीमा सिटामोलको उपलब्धताबारे अनुगमन गरिएको जानकारी गराउँदै उनले भने– “सिटामोलको आपूर्तिमा केही समस्या रहेछ । स्टक कम छ तर सिटामोल नै नभएको अवस्था छैन, एक पाता सिटामोल लगभग सबैजसो फार्मेसीमा पाइन्छ ।”

आमउपभोक्तालाई उपलब्ध सिटामोल कसैले मागे जति दिने र कसैले पाउँदै नपाउने अवस्था नआउने गरी बिक्री वितरणको व्यवस्था मिलाउन फार्मेसी सञ्चालकलाई निर्देशन दिएको प्रजिअ उपाध्यायले बताए । सिटामोल वितरणको विषयमा बदमासी गरे वा नगरेको विषयमा अप्रत्यक्ष रूपमा निगरानी बढाइने पनि उनले जानकारी दिए । गोरखापत्र दैनिकबाट ।