काठमाडौं – जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।


ADVERTISEMENT


वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको थियो । दुम्से बस्ती हात्ती प्रभावित क्षेत्र मानिन्छ । दुई वर्षपछि दमकमा हात्तीले फेरि मान्छेको ज्यान लिएको वडाध्यक्ष बरालले बताए ।


ADVERTISEMENT

# # #


दमक अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि झापाको दमकस्थित सरकारी अस्पतालको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

दमक अस्पतालका सूचना अधिकारी देवी दङ्गालका अनुसार आजदेखि शुक्रबारसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।

अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस क्षेत्रको स्वास्थ्य बिमाको प्रथमविन्दु दमक अस्पताल मानिन्छ ।

यस अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीले बिमामार्फत उपचार सेवा पाउँदै आएका मेडिकल सुपरिटेन्डेण्ट डा खड्ग लिम्बूले जानकारी दिए।