काठमाडौं – राष्ट्रिय सभा चुनावको मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजेसम्म चल्नेछ ।


ADVERTISEMENT


फागुनदेखि रिक्त हुने १९ पदका लागि आज मतदान भैरहेको हो । राष्ट्रिय सभा चुनावको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र सकेसम्म आजै नतिजा सार्वजनिक गर्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।


ADVERTISEMENT

# # #


यसैबीच धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ । किसानलाई मलको अभाव भएको भन्दै जनमत पार्टीका कार्यकर्ताले पहिला मल दिनुपर्ने अनि मात्र मत माग्नुपर्ने बताएका छन् ।

सात प्रदेशमा आठ मतदानस्थल र १४ मतदान केन्द्रको व्यवस्था गरिएको छ । राष्ट्रिय सभा चुनावमा प्रदेश सभा सदस्य तथा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी नौ दलका ४३ जनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनमा रहेका पाँच दलले प्यानल नै बनाएर उम्मेदवारी दिएका छन् । एमालेका खाली हुने आठ सिटमा गठबन्धन दलले भागबण्डा गरेका हुन् । एमालेले सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ । मधेस प्रदेशमा भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको छ ।

आउँदो फागुन २० गतेदेखि एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले आज चुनाव भएको हो । राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।