झापा –  बिर्तामोडकी कृपा पौडेल नेपाली बाल गायन रियालिटी शो सारेगमप लिटिल च्याम्प्स नेपाल’ की एक होनहार प्रतिभा हुन् । उनी हाल सारेगमप लिटिल च्याम्प्स नेपाल’  फाइनालिस्टसमेत रहेकी छन् ।  सानै उमेरमा शास्त्रीय संगीतमा पारङ्गत कृपालाई जिताउन झापामा भोटको क्याम्पेन चलिरहेको छ ।


ADVERTISEMENT


कार्यक्रमका सहभागीहरु गायनका क्षेत्रमा सबै अब्बल ठहरिए पनि झापाकी कृपाको भने चर्चा  धेरै नै चुलिएको बताइएको छ  । विभिन्न अडिसनमा देश तथा विदेशबाट सहभागी ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगीलाई पछि पार्दै उत्कृष्ट ५ मा छनोट भएर फाइनल राउन्डमा प्रवेश गरेपछि कृपा जिताऔँ अभियानले भोट गर्न अपिल गरेको छ ।


ADVERTISEMENT

# # #


आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अभियान तथा उनका बुवाले सञ्चारमाध्यममार्फत सबै समर्थकलाई भोट गर्न आग्रह गरेका हुन् । गत वर्ष १३ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्र पाठ गरेर चर्चा बटुलेकी कृपाले सारेगमप लिटिल च्याम्प्स नेपालमा पनि अब्बल प्रस्तुति दिइरहेकी छन् ।

उनले निर्णायक र ग्रान्ड जुरी मेम्बरको वाहवाही पाइरहेकी छन् । शनिबारको एपिसोडमा कृपाले ’धरती यो गगन’ बोलको गीत गाएर मैदानमा छक्का नै हानिन् । ग्रान्ड जुरी÷जज अनि गेस्ट सन्दीप क्षेत्री नतमस्तक भए उनको प्रस्तुतिमा । क्लासिकल टोनले सबलाई फिदा बनाइन् ।
यही प्रस्तुतिबाट प्रतियोगीले आश गर्ने सङ्गीतकार न्ह्यु बज्राचार्यबाट गीत गाउने प्रस्ताव पाइन् कृपाले । बज्राचार्यले ’कृपा, मेरो गीत गाउँछौ ?’ भनेर सोधेनन् मात्र आफ्ना धेरै गीत कृपाले गाउने घोषणा नि गरिदिए ।

झापा बिर्तामोड–२ चारपानेकी १४ वर्षीया गायिका कृपालाई शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी टिभीबाट प्रसारण भइरहेको ‘रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ को विजेता बनाउन मोबाइलको म्यासेज बक्समा गएर एसजिएमपी स्पेस ०९ टाइप गरेर ३३००१ मा पठाउनुपर्ने छ ।

त्यस्तै, मोमो एप्स डाउनलोड गरेर देश तथा विदेशबाट एकमुस्ट भोट गर्न सकिनेछ । भोट यही माघ २२ गते राति ९ बजेसम्म गर्न सकिनेछ ।
कृपाले हरेक एपिसोडमा निर्णायक न्ह्युु बज्राचार्य, इन्दिरा जोशी, कालीप्रसाद बाँस्कोटा र १५ जना ग्रान्ड जुरी मेम्बरको मन जित्दै आएकी छन् । सफल भइरहेकी छिन् भने हरेक इपीसोडमा दर्शक तथा श्रोताको मन समेत जितिरहेकी छिन् ।

मोहनमाया माविमा कक्षा ९ मा अध्ययनरत् उनी बिर्तामोडको सरगम संगीतालय र सप्तक म्युजिक क्लासमा संगीत सिक्दै गरेकी छन् ।
पत्रकार सम्मेलनमा कृपाका बुवा कुमार, अभियानका अध्यक्ष तथा बिर्तामोड २ का वडा अध्यक्ष नगेन्द्र संग्रौला, अभियान्ता तथा कलाकार माधव कल्पित, अभियान्ता तथा रोटरी क्लब अफ बिर्तामाडका अध्यक्ष दिनेश पोखरेल, सञ्चारकर्मी दिपेन्द्र पौडेललगायतले कृपाका बारे जानकारी दिएका थिए ।

यसैबीच, कृपालाई भोट गर्नका लागि झापा हल्दिबारीको क्यानेरी एकाडमीले नगद हस्तान्तरण गरेको छ ।  बिर्तामोडमा एकाडमीका सहप्रधानाध्यापक मोहन बेघाले कृपाका बुवा कुमार र अभियान्ता कल्पितलाई नगद १० हजार रुपैयाँ प्रदान गरे ।