काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ सङ्गठन आदिवासी जनजाति सङ्घ तदर्थ समितिका सभापति इन्द्रबहादुर गुरुङले पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बुझाएका छन् ।


ADVERTISEMENT


माघ ११ गते राजीनामा पत्र बुझाएका गुरुङले सङ्घको महाधिवेशन गर्न ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका छन् । झन्डै १४ वर्षदेखि सङ्घको तदर्थ समितिको नेतृत्व गरेका गुरुङले भने, “सङ्घीय संरचनाअनुसार विधान संशोधन गर्नुपर्ने थियो तर २०७४ देखि अहिलेसम्म विधान संशोधन भएन । त्यसैले तदर्थ समितिमा बसिरहन उचित लागेन र राजीनामा दिएको हुँ ।”


ADVERTISEMENT

# # #


सङ्घ मात्रै होइन, नेपाली काँग्रेसको १३औँ महाधिवेशनकै बेला पदावधि सकिए पनि सबैजसो भ्रातृ सङ्गठको महाधिवेशन हुन नसक्दा साङ्गठानिक संरचना अस्तव्यस्त छ ।

तदर्थ समितिको नेतृत्व गरिरहेका नेताहरू जिम्मेवारी हस्तान्तरण गर्न उत्तिकै रूपमा व्यग्र प्रतीक्षामा छन् । काँग्रेसको नेतृत्व उत्पादन गर्ने प्रभावशाली सङ्गठन नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलसहितका १३ भ्रातृ संस्थाको महाधिवेशन नहुँदा कार्यकर्तामा अन्योल छ । नेपाल महिला सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल मुस्लिम सङ्घ, नेपाल तामाङ सङ्घ, नेपाल राष्ट्रिय मगर सङ्घ र नेपाल ठाकुर समाजको महाधिवेशन हुन सकेको छैन ।

यस्तैमा केही भ्रातृ सङ्गठनका अध्यक्षहरू १४औँ महाधिवेशनबाट काँग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएपछि ती सङ्गठनको नेतृत्व नै रिक्त भएको छ । गोरखापत्र दैनिकबाट ।