कोहलपुर– बाँकेको कोहलपुरमा नमूना बसपार्क निर्माण धमाधम भइरहेको छ । अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले कोहलपुर चौराह नजिक नमूना बसपार्क निर्माण थालिएको हो ।


ADVERTISEMENT


अहिलेसम्म बसपार्कको ४५ प्रतिशत काम सम्पन्न भइसकेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिएका हुन्।


ADVERTISEMENT

# # #


विसं २०७७ फागुन २४ गते २७ करोड ८४ लाख रुपैयाँमा बसपार्क निर्माणका लागि सम्झौता भई काम सुरु भएको थियो । बसपार्क निर्माणका लागि कूल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट विनियोजन गरिएको छ । पाँच बिघा १६ कठ्ठामा निर्माण भइरहेको उक्त बसपार्कको खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा चिनिन्छ । कोहलपुर बसपार्कबाट राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बससमेत सञ्चालन हुने नगरप्रमुख रावतको भनाइ छ । बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्ससहितको हुने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जनाए ।

बसपार्कमा निर्माण हुने सटर, सपिङ कम्प्लेक्स, बसपार्क पार्किङलगायतका संरचनाबाट कोहलपुर नगरपालिकाको आन्तरिक आयस्रोत बढ्ने ढकालले सुनाए । बसपार्क सञ्चालनमा आएपछि यात्रुलाई सहज हुने र कोहलपुरको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

पाँच तलाको सपिङ कम्प्लेक्ससहितको निर्माणाधीन बसपार्क नेपालकै नमूना बसपार्क हुने कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इञ्जीनियर बालकृष्ण महतराले बताउँछन् । यसलाई नगरपालिकाले गौरवको योजनाका रूपमा अगाडि सारेको छ । रासस