काठमाडौँ– प्रहरीले अवैध रुपमा भन्सार छलि ल्याएको सामाग्री सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले सुन, मोबाइल तथा ल्यापटप सहित चार जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका–८ मधुमल्लका ३० वर्षीय पदम बहादुर अधिकारी, सोही गाउँपालिका स्थायी वतन भएका ३० वर्षीय मान सिंह विश्‍वकर्मा र झापा शिवसताक्षी नगरपालिका–९ मिलनचोक वतन भएका २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ वतन भएका ३२ वर्षीय गोकुल डल्लाकोटी रहेका छन् ।

प्रहरीले जजिरा एयरको फ्लाइटद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका पदम बहादुरको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप, मान सिंह विश्‍वकर्माको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप बरामद गरेको छ । यस्तै, समिरको साथबाट भने प्रहरीले ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप फेला पारेको छ ।

सोधपुछ क्रममा उक्त सामानहरू गोकुलको निर्देशनमा ल्याएको भनि खुल्न आएपश्चात् सो सामान लिन आएका गोकुल समेत फन्दामा परेका छन् ।

उनीहरूलाई बरामद सामानहरू सहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।