कञ्चनपुर– आर्थिक समृद्धिका एजेण्डा बोकेर कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का वाम गठबन्धन तथा लोकतान्त्रीक गठबन्धनका उम्मेदवार महाकाली नगरपालिकामा चुनावी प्रचारमा जुटेका छन् ।


ADVERTISEMENT


महाकाली नदीमा पक्की पुल निर्माण र सुख्खा बन्दरगाहसँग जोडेर आर्थिक समृद्धि गर्ने चुनावी एजेण्डासहित उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन् । क्षेत्र नं ३ मा वाम गठबन्धनबाट एमालेका डा दीपक प्रकाश भट्ट र लोकतान्त्रीक गठबन्धनबाट काँग्रेसका रमेश लेखक प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।


ADVERTISEMENT

# # #


भट्टले महाकाली पुल र सुख्खा बन्दरगाहलाई एशियन हाइवेसित जोडेर दोधारा चाँदनीसहित ७ नं प्रदेशको आर्थिक विकास हुने एजेण्डा अघि सारेका छन् । दुवै पूर्वाधार यस क्षेत्रको आर्थिक विकासका मेरुदण्ड भएको उनको भनाइ छ ।

“भारतको राजधानी नयाँ दिल्लीसँग भन्दा पनि व्यापारिक र आर्थिक केन्द्रसित जोडिनुपर्छ”, उनले भने । भारतको विशाखापट्टनम र कोलकाता बन्दरगाहसँग सुुख्खा बन्दरगाह जोडेर कारोबार गरिनुपर्नेमा भट्टले जोड दिए ।

यस्तै, काँग्रेस उम्मेदवार लेखकले पुल निर्माण र सुख्खा बन्दरगाह निर्माणलाई चुनावी एजेण्डा बनाएका छन् । उनले सुख्खा बन्दरगाह निर्माण गरी देशकै सबैभन्दा ठूलो व्यापारिक नाका बनाउने चुनावी प्रतिबद्धता मतदातामामाझ गर्दैआएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केही महिनाअघि शिलान्यास गरेको महाकाली नदीको पुल निर्माण दुवै दलको साझा एजेण्डा बनेको छ ।

“महाकाली नदीमा पक्की पुल निर्माणका लागि सक्दो पहल गरेको हुँ,” उम्मेदवार लेखकले भने । उनले मझगाउँ विमानस्थल सञ्चालन, घाडीघाँच क्षेत्रमा खानेपानी, जोगबुडामा पुल, दोधारा चाँदनी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति, सडक कालोपत्र लगायतका एजेण्डा मतदातामाझ सारेका छन् ।

क्षेत्र नं ३ मा ८२ हजार मतादाता छन् । महाकाली नगरपालिकामा मात्रै २२ हजार मतदाता छन् । दोधारा–चाँदनीका मत तान्न वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले प्रदेशसभामा महाकाली पारीकै व्यक्तिलाई उम्मेदवार बनाएका छन् । क्षेत्र नं ३ प्रदेश (ख)मा वाम गठबन्धनबाट माओवादी केन्द्रका मानबहादुर सुनार र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका बेलबहादुर राना चुनावी मैदानमा छन् ।

क्षेत्र नं ३ प्रदेश (क)मा एमालेका प्रकाश रावल र काँग्रेसका यज्ञराज जोशी उम्मेदवार छन् । क्षेत्र नं ३ मा भीमदत्त नगरपालिका, महाकाली नगरपालिका र वेदकोट नगरपालिका–८ का ३० वडा पर्छन् ।