काठमाडौँ – प्रहरीले त्रिभुवन विमानस्थलबाट भन्सार छली गरेर सुन भित्र्याएको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


प्रहरीले विशेष सूचनाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा नियन्त्रणमा लिई सोधपुछ गर्दा करिब २१५ ग्राम बराबरका तीन थान सुनका सिक्रीसहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका वडा नं. २का २६ वर्षीय अर्जुन राई, सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ४ का ३४ वर्षीय भुपेन्द्र विष्ट, सर्लाही धनकौलका २५ वर्षीय महेन्द्र ठाकुर र धादिङ गंगाजमुना गाउँपालिका वडा नं. ६ का गणेश मल्ल रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार मंगलबार कतार एयरवेजको उडानद्वारा कतारको दोहाबाट काठमाडौँ आएका अर्जुन राई, भुपेन्द्र विष्ट र महेन्द्र ठाकुरको गतिविधि शंकास्पद लागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

खानतलासी गर्दा राईको साथबाट ५ लाख ८० हजार ३३५ रुपैयाँ बराबरको ७० ग्रामको १ थान सुनको सिक्री, विष्टको साथबाट सोही मूल्य बराबरको ७० ग्रामको १ थान सुनको सिक्री र ठाकुरको साथबाट ६ लाख २१ हजार ७८७.५० रुपैयाँ बराबरको ७५ ग्रामको १ थान सुनको सिक्री बरामद गरिएको एसएसपी ढकालले हिमालय पोष्टलाई बताए ।

उनीहरुलाई थप सोधपुछ गर्दा गणेश मल्लले नै आफूहरुलाई भन्सार छली गर्न लगाएको बताएका थिए र गणेश मल्लले पनि उक्त कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरनमा बुझाइएको छ ।

त्रिभुवन विमानस्थलमा एसएसपी ढकाल प्रहरी प्रमुख भएर गएसँगै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थल प्रहरीले गत आआइतबार मात्रै करिब ५ केजी सुनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।