काठमाडौं – नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मंसिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने भएको छ ।
अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको पावन सत्संकल्पमा उक्त महायज्ञ आयोजना हुन लागेको हो । महायज्ञ मार्फत सनातन धर्म, वैदिक सभ्यता, संस्कार, संस्कृति तथा आध्यात्मिक ज्ञानको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य रहेको ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
धार्मिक विधिअनुसार निर्माण गरिने धनधान्याचलमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरी शिरमा भगवान् श्रीशालिग्राम विराजमान गराउने योजना रहेको आयोजकले जनाएको छ । त्यस्तै श्रीमुक्तिनाथ वेदविद्याश्रमलार्ई विशिष्टतम महाविद्यालयमा अभिवृद्ध गर्दै नमुना वैदिक विश्वविद्यालय स्थापना गर्ने दिर्घकालीन लक्ष्य राखिएको मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले जानकारी दिए । महायज्ञको सञ्चालनका लागि १०८ सदस्यीय मूल महायज्ञ सम्पादन समिति गठन गरिएको उनले बताए ।
महायज्ञका अवसरमा चार वेद, उपनिषद्, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्र लगायतका शास्त्रहरूको पाठपारायण गरिने कार्यक्रम रहेको समितिले जनाएको छ ।



























