काठमाडौं – स्थानीय निर्वाचन, २०७९ का लागि निर्वाचन आयोगमा ३२ वटा दलले दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले निर्वाचन प्रयोजनका लागि फागुन १५ गतेसम्म दल दर्ता हुनुपर्ने समयावधि तोकेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार थप छवटा दल दर्ता भएका छन् ।


ADVERTISEMENT


बिहीबार मात्रै पिछडावर्ग निषाद दलित जनजाति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल, समाजवादी केन्द्र नेपाल, नेसनलिस्ट पिपुल्स पार्टी नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल र आमूल परिवर्तन मसिहा पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगमा हालसम्म १०९ वटा राजनीतिक दल दर्ता भएकोमा ७३ वटा दल अझै स्थानीय निर्वाचन प्रयोजनका लागि दर्ता भएको छैनन् ।


ADVERTISEMENT

# # #


आफ्नै चुनाव चिह्न पाउने दुई दल मात्रै हालसम्म निवेदन दिएका छन् । राष्ट्रिय मान्यता प्राप्त गरी आफ्नै चुनाव चिह्न पाउने छवटा दल रहेकोमा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मात्रै निवेदन प्राप्त भएको आयोगले जनाएको छ ।

सङ्घीय संसद्मा प्रतिनिधित्व हुने र दलीय चुनाव चिह्न पाउने नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र जनता समाजवादी पार्टी अझै निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन दिएको छैन ।

यसैबीच, स्थानीय निर्वाचन, २०७९ को तयारीका लागि निर्वाचन आयोगले गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रत्येक मतदान केन्द्रमा कोभिड–१९ रोकथाम गर्ने स्वास्थ्य सामग्री प्रयोग गरिने जानकारी दिए । उक्त प्रयोजनका लागि आयोगले मतदान केन्द्रमा मास्क र स्यानिटाइजर र प्राथमिक उपचार सामग्रीको खरिद गर्न बोलपत्र आह्वान गरेको प्रवक्ता अर्यालले बताए ।  समाचार गोरखापत्र दैनिकमा छ ।