इलाम – संविधानसभाबाट जारी नेपालको संविधानमा भएका प्रावधान कार्यान्वयन गर्ने सिलसिलामा हुन गइरहेको यसपटकको निर्वाचन गतिविधि गाउँमुखी देखिएको छ ।


ADVERTISEMENT


पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै नजिकिँदै गएको निर्वाचन केन्द्रित गरेर आफ्ना क्रियाकलापलाई गाउँगाउँमा पुर्याइएका छन् । उनीहरुले जनतासमक्ष आ–आफ्ना प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


दोस्रो चरणअन्तर्गत यही मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आफ्नो पक्षमा पार्ने होडमा अन्य जिल्लामा जस्तै इलाममा पनि वाम र लोकतान्त्रिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका छन् भने क्षेत्र नं २ बाट पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन्। त्यसले गर्दा इलाम अहिले राष्ट्रिय चर्चामा छ । चुनावी प्रचारप्रसारका क्रममा उनीहरु दुवैजना आफ्ना क्षेत्रका ग्रामीण इलाकामा छन् ।

पूर्वप्रम खनाल सन्दकपुर गाउँपालिकाका वडामा मत माग्दै घरदैलो अभियानमा छन् । उनका प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका भूपेन्द्र कट्टेल पनि घरदैलो कार्यक्रममा व्यस्त छन् । उनले श्रीअन्तु, सवाललुबुङलगायतका विभिन्न स्थानमा पुगेर जनतासमक्ष मत मागिरहेका छन्

यसैगरी पूर्वसभामुख नेम्वाङ शनिबारसम्म आफ्नो क्षेत्रका सबै गाउँपालिकाको घरदैलो पूरा गर्ने क्रममाछन् । उनीविरुद्ध नेपाली काँग्रेसका केशव थापा निर्वाचनमा उत्रिक्एा छन् । उनले पुवा मजुवा, चमैटाजस्ता भेगमा घरदैलो भ्याइसकेका छन् भने शनिबार शाखेजुङ र शान्तिडाँडा जाँदै छन् ।

उनीहरु जस्तै अन्य दलका उम्मेदवारले पनि घरदैलोलाई गाउँ केन्द्रित बनाएका छन् । ग्रामीण क्षेत्रको घरदैलो सकाएर उनीहरु इलामका शहरमा केन्द्रित हुने सम्बन्धित जिल्ला पार्टीले कार्यक्रम तय गरेको छ ।

घरदैलोका क्रममा उनीहरुले इलामको विकास र समृद्धिलाई जोडतोडले अठाएका छन् । नगदेबालीको मूल्य निर्धारण र किसानको जीवनस्तरमा सुधारगर्ने जस्ता विषयलाई उनीहरुले सबैभन्दा बढी चर्चामा ल्याएका छन् ।

निरन्तर पेचिलो बन्दै आएको इलामका चियाको मूल्य निर्धारणलाई न्यायोचित बनाउने, अलैँची किसानका समस्यालाई पनि सम्बोधन गर्नुपर्ने चुनौती जस्ता मुद्दा समाधान गर्ने यहाँका राजनीतिक दलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

इलाम नगर–२ का ४६ वर्षीय राजेश खनाल यहाँ खानेपानी समस्या मुख्य भएको बताउँछन् । उनका अनुसार विगत १० वर्षदेखि यो मुद्दा ज्यूँका त्यूँ छ । नेताहरु शहर आएपछि पुनः उक्त मुद्दालाई सम्बोधन गर्न बाचा गरिरहेको खनालको बुझाइ छ ।

त्यस्तै इलाम सुन्तलाबारीका रोहितकुमार शिवा भन्छन्, “आजसम्म सोचेअनुसारको परिवर्तन हुन सकेन, विकास निर्माणले गति लिएन, त्यसैले अझै मतदान कसलाई गर्ने भन्ने यकिन छैन ।

विगतका निर्वाचनमा गाउँ नपुगेका दल तथा त्यसका नेता कार्यकर्ताले यसपालिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई घर घरमा पुर्याएका छन् । उनीहरु पनि विगतको तुलनामा गाउँ केन्द्रित भएर मतदाता रिझाउन तल्लिन देखिएका छन् ।

यस जिल्लामा कूल दुई लाख चार हजार ५० मतदाता छन् । यहाँको निर्वाचन क्षेत्र नं २ मा एक लाख दुई हजार ९८४ मतदाता छन् । यस क्षेत्रको प्रतिनिधिसभामा १० वटा राजनीतिक दलले भाग लिएका छन् भने १० जना नै उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रको प्रदेश नं (क) मा ५३ हजार ७१५ मतदाताले सात राजनीतिक दलका सातैजना उम्मेदवारबाट आफ्नो प्रतिनिधि चुन्नु पर्नेछ । त्यसैगरी प्रदेश नं ९ख० का ४९ हजार २६९ मतदाताले १० राजनीतिक दलका १० र एकजना स्वतन्त्र गरी ११ जना उम्मेदवारबाट आफ्नो जनप्रतिनिधि छनोट गर्नुपर्नेछ । यस निर्वाचन क्षेत्रमा कूल २६६ मतदान केन्द्र तोकिएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं. १ मा कूल एक लाख एक हजार ६२ मतदाता छन् । त्यसमध्ये प्रदेश (क) मा ५१ हजार ४५६ र प्रदेश (ख) मा ४९ हजार ६०६ मतदाताले मत खसाल्ने छन् । त्यस्तै यस क्षेत्रको प्रदेश (क) ६६ र प्रदेश (ख) मा ६३ मतदान केन्द्र कायम गरिएको छ ।

जिल्लामा प्रतिनिधिसभाका लागि आठ राजनीतिक दलका आठजना उम्मेदवारले भाग लिएका छन् ।