सामान्यतयाः इनफर्टिलाईजेशन(बाँझोपन) भन्नाले गर्भधारणा गर्न नसक्ने अवस्थालाई जनाउँछ । अर्थात्, कुनै पनि दम्पती/जोडीले एक वर्ष वा सोभन्दा लामो समयसम्म परिवार नियोजनका कुनै पनि साधनबिना नै यौनसम्पर्क कायम गरेको अवस्थामा पनि महिलाले गर्भधारण गर्न नसक्ने अवस्था नै बाँझोपन हो । र, बाँझोपनका समस्याका लागि महिला मात्रै नभई पुरुषहरु पनि उत्तिकै जिम्मेवार रहने तथ्य विभिन्न अध्ययन-अनुसन्धानहरुले पुष्टि गरिसकेको छ ।


ADVERTISEMENT


विश्वका झण्डै ४ करोड ८० लाख जोडीहरु यस समस्याबाट ग्रसित रहेको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को प्रक्षेपण छ । यस्तै नेपालको सन्दर्भमा भने ५–७ प्रतिशत जोडीमा बाँझोपन देखिने गरेको एक अनुसन्धानले देखाएको छ ।


ADVERTISEMENT

# # #


यसरी विश्वव्यापी समस्याकै रुपमा स्थापित भएको बाँझोपनको समस्या आखिर के कारणले देखापर्छ ? यसका विकल्प एवम् समाधानका उपायहरु के छन् त ? यसै विषयमा केन्द्रित रहेर काठमाडौँस्थित ह्याम्स  हस्पतालका स्त्री रोग विशेषज्ञ एवम् ‘अब्स्ट्रेटिसियन’का रुपमा समेत प्रसिद्ध डा. भोला रिजालसंग हिमालय पोष्टकर्मी सृजना मगरले गरेको कुराकानीको सम्पादित अंश :

बाँझोपनका समस्या के कारणले देखा पर्छन् ?

नेपाल, भारत, पाकिस्तानजस्ता पूर्वीय मुलुकहरुको आँकडा हेर्ने हो भने बाँझोपनका समस्या देखिनुमा ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष र बाँकीको केशमा भने दुवै पक्ष जिम्मेवार रहेको देखिन्छ ।

त्यसकारण यो समस्यामा महिला र पुरुष दुवै पक्ष बराबरी रुपमा भागेदार रहेका हुन्छन् । यद्यपि नेपालको परिप्रेक्षमा हेर्ने हो भने उचित ज्ञानको अभावमा  विगतका दिनहरुदेखि नै बाँझोपनको समस्याका लागि विशेषगरी महिलाहरुलाई मात्रै दोष दिने विडम्बना रहँदै आएको देखिन्छ ।

कुनै पनि दम्पत्तिको प्रजनन स्वास्थ्यमा भौगोलिक अवस्थाले समेत उत्तिकै प्रभाव पारेको हुन्छ । जस्तो : तराईका विशेषगरी पुरुषहरुले प्रयोग गर्ने खैनी, गुट्खाजस्ता सुर्तीजन्य पदार्थ सेवनका कारण उनीहरुमा इफर्टिलिटी(प्रजनन गराउन नसक्ने अवस्था) को समस्या उच्च रहन्छ ।

यस्तै, पहाडी क्षेत्र अथवा ४–५ हजार फिटतिरका क्षयरोग देखिएका अधिकांश महिलाहरुमा पनि बाँझोपनको समस्या देखिने गरेको पाइन्छ ।

यस्तै, अर्काे विडम्बना के पनि छ भने, करियर तथा आर्थिक स्तरोन्तरका लागि भन्दै विदेश पलायन भएका पुरुषहरुको सन्दर्भमा पनि उनीहरुमध्ये अधिकांशले फर्किदा साथमा यौनजन्य रोग वा समस्या समेत बोकेर आएका हुन्छन् । उनीहरुमा विशेषगरी वीर्यमा शुक्रकिट नै नहुने समस्या व्याप्त रहेको देखिन्छ । जसले  पनि प्रजनन क्षमतामा प्रत्यक्ष रुपमा असर पुर्याउँछ ।

यसरी सबै केशलाई समग्रमा हेर्ने हो भने, बाँझोपनका समस्यामा महिला मात्रै नभई पुरुषहरु पनि उत्तिकै जिम्मेवार रहेको देखिन्छ ।

ढिलो गर्भधारण योजनाले  के–कस्ता समस्याहरु निम्त्याउँछन् ?

जति उमेर छिप्पिदैँ गयो त्यति नै महिलाको प्रजनन क्षमतामा हृास आउन थाल्छ । उचित जोडीको अभावमा होस् वा करियर बनाउने चक्करमा वर्तमान समयका युवायुवतीहरु समयमै बिहे नगर्ने वा गरे पनि ढिलो बच्चाको योजना बनाउने गर्छन् । जसकारण पनि पछिल्लो समय नेपालमा एकातिर बाँझोपनको समस्या बढ्दै गइरहेको त, छ साथै यसले आमा शिशु दुवैको स्वास्थ्यमा प्रत्यक्ष असरसमेत परिरहेको छ ।

यस अर्थमा भन्नुपर्दा ढिलो गर्भधारणले आमा मात्र नभई शिशुमा समेत विभिन्न समस्याहरु निम्त्याउने जोखिम उच्च रहन्छ । आमाको सन्दर्भमा भन्नुपर्दा गर्भाधानपछिका समस्या मात्र नभएर उमेर बढी भएका महिलामा गर्भधारण गर्नै गाह्रो हुन्छ ।

अर्थात्, भनौ ३५ वर्ष वा सोभन्दा पछि महिलाको पहिलो गर्भ रहन गएमा यसले महिलामा रुकिस्नेस बढी हुने, हड्डीका ज्वाइन्ट बढी कडा भएर डेलिभरी प्रोसेसमा समस्या सिर्जना गराउने भय अन्य महिलाको तुलनामा बढी हुन्छ । जसले पेटमा रहेको बच्चालाई समेत गाह्रो हुने तथा ९ महिनासम्म आमा र बच्चा स्वस्थ रहनु एक चुनौतीको रुपमै खडा हुन पुग्दछ । यस्तै, उनीहरुमा उमेरका कारण उच्च रक्तचाप, ब्लडसुगरजस्ता समस्या पनि देखिन्छन् ।

यस्तै प्रकृतिको नियमअनुसार, ३५ कटेर ४० वर्षको हाराहारी अथवा सोभन्दा माथिका महिलाहरुमा डिम्ब ननिस्कने समस्या देखिन्छ भने कतिपयमा डिम्ब निस्केर पनि गर्भधारण गर्न नसक्ने, र गर्भधारण गरेपनि राम्रो डिम्ब उत्पादनको अभावमा त्यस्ता महिलाबाट जन्मने शिशुहरुमा ‘डाउन सिन्ड्रोम’जस्ता समस्या देखिने र एबनर्मल (असामान्य)वा विकलाङ्ग हुने सम्भावना पनि बढेर जान्छ ।

एउटी महिलाको गर्भधारण/ प्रजननमा पुरुषको बढ्दो उमेरले प्रभाव पार्छ कि पार्दैन ?

नेपाली समाजमा ८०–९० वर्षका वृद्ध पुरुषहरुले पनि बिहे गरेर बच्चा जन्माएको देखेका छौँ । अर्थात्, यदि पुरुषको शुक्रकीटको गुणस्तर ठिक छ र, यौन चाहना तथा यौनसम्पर्क गर्ने क्षमतामा कमी आएको छैन भने उमेरले गर्भधारण र प्रजननमा कुनै पनि समस्या पार्दैन ।

कुनै पनि महिला या पुरुषले गर्भधारणाको योजना बनाउने उपयुक्त उमेर कुन हो ?

नेपाली समाजमा बालविवाह आजको दिनमा पनि विकराल रुपमा देखिएको समस्या हो । यो समसया हालसम्म पनि नेपालको पहाडी एवम् तराई क्षेत्रमा विद्यमान छ नै । यससंगै अहिले आएर अत्याधिक युवाहरु विदेश पलायन हुने भएकाले घरपरिवारले उनीहरुको छिट्टै विवाह गरिदिने र भरसक एउटा सन्तान होस् भन्ने चाहाना राख्न थालेको देखिन्छ । जुन सरासर गलत हो ।

यस्तै, नेपाली कानुन ऐनअनुसार पनि विवाहका लागि कम्तिमा पनि २० वर्षको उमेर हद तोकिएको छ । यस्तै, गर्भधारणका लागि महिला पुरुषको उपयुक्त उमेरलाई हेर्ने हो भने, २० वर्षमाथि अर्थात्, २५ वर्षको हाराहारीको समयलाई उचित मानिन्छ ।

जसले गर्दा यी उमेरका व्यक्तिहरु शारीरिकसंगै आय आर्जन गर्ने एवम् निर्णय लिनेजस्ता पक्षहरुमा समेत सबल भइसकेका हुन्छन् ।

बाँझोपन निराकरणका लागि आएको आईभिएफ कस्तो किसिमको सेवा हो ?

कतिपय जोडीहरु बिहे गरेको दुई वर्षसम्म संगै बस्दा चाहेर पनि गर्भधारण गर्न सकिराखेका हुदैँनन् ।  नेपालको सन्दर्भमा झण्डै १५ प्रतिशत दम्पतीहरुमा यस किसिमको समस्या देखिएको छ । तसर्थ त्यस्ता दम्पतीहरुको समस्या समाधानको निम्ति ल्याइएको सेवा नै आईभिएफ(इनभिट्रो फर्टिलाइजेशन)हो, भने कतिपयले यसलाई टेस्टट्युब बेबी भनेर पनि बुझ्नु हुन्छ ।

यसको प्रक्रिया अन्तर्गत महिलालाई कसरी गर्भधारण गराइन्छ ?

यसमा पाठेघरको नली बिग्रीएका कारण गर्भधारण गर्न नसकेको दम्पतीका महिलाबाट डिम्ब र पुरुषबाट शुक्रकिट निकाल्छौँ निकालिएको उक्त डिम्ब र शुक्रकिटलाई हामीले ल्याबमा ३६ देखि ४८ घण्टा सेचन वा फर्टिलाइज हुन दिन्छौँ । र, उक्त फर्टिलाइज भइसकेको डिम्बलाई चाहिँ पुनः आमाकै गर्भमा राख्दिन्छौ, जसलाई हामी ‘एमरियो ट्रान्सफर’ भन्छौ । यसरी ट्रान्सफर गरिसकेपछि ती महिला पनि गर्भवती हुन्छिन् र उनले पनि अन्य महिलाजस्तै शिशुलाई जन्म दिन्छिन् । यसैलाई नै टेस्ट्युब बेबी भनिन्छ ।

टेस्ट्युब बेबीको प्रक्रियामा टेस्ट्युबको काम जब आमाको डिम्बाशयबाट डिम्ब निकालिन्छ । त्यसलाई २ देखि ५ मिनेटभित्र सफा गरिसकेपछि सफा गरेर शुक्रकीटसँग त्यसको मिलन गराउनको निम्ति एउटा सानो डिसमा २ मिनेटको लागि मात्रै राखिदिन्छौं । यसकारण टेस्ट्युब २ मिनेटको लागि मात्रै प्रयोग हुने हुन्छ । बाँकी ९ महिना भने साधारण महिलाको जस्तै शिशु गर्भमा नै हुर्कन्छ ।

र, वि.सं २०६० सालमा पहिलो पटक ओम अस्पतालबाट ओममणि तामाङ्गको जन्म मेरै हातबाट भएपश्चात् त्यसयता नेपालमा यस किसिमको सेवाहरु निरन्तर रुपमा सञ्चालन हुदैँ आएका छन् । र, मलाई लाग्छ, आजका दिनसम्म नेपालमा ५ हजार हाराहारी दम्पती यस प्रविधिबाट अभिभावक बन्न सफल भइसकेका छन् ।

ह्याम्स अस्पतालको आईभिएफसम्बन्धिको भावी योजना के छ त ?

ह्याम्स अस्पतालले आफ्नो स्थापना कालदेखि नै महिला तथा प्रसुति रोगलाई उच्च प्राथमिकतामा राख्दै निरन्तर रुपमा यससम्बन्धि सेवाहरु दिदैँ आएको छ । यसै सन्दर्भमा अब आगामी वैशाखका शुरुआतीदेखि नै ह्याम्सले आइभिएफको सेवा समेत सञ्चालन गर्ने योजना बनाएको छ ।

https://www.facebook.com/HimalayaPostNepal/videos/345791727466225