आपतकालीन अवस्थामा होस् या शरीरमा कुनै पनि रोग लागेको खण्डमा सो समस्या निराकरणका लागि हामीमध्ये जोकोहिले झट्ट सम्झिने स्थान अस्पताल नै हो । सँगसँगै आकस्मिक सेवादेखि शरीरमा देखिएको समस्या कुन विभागले हेर्छ भन्ने कुराको समेत ज्ञात नभएको अवस्थामा जो कोही सर्वप्रथम जाने अस्पतालको विभाग नै ‘इमर्जेन्सी मेडिसिन’ हो ।


ADVERTISEMENT


२४ सै घन्टा र ३६५ दिन नै सेवा प्रदान गर्ने यस विभागले बिरामीमा आइपरेको तत्कालको जोखिमलाई न्यूनीकरण गर्दै थप उपचारका निमित्त कुन विभाग जानुपर्ने हो ? त्यसको जानकारी समेत प्रदान गर्दछ । यसरी सम्भावित विकलांगको जोखिम न्यूनीकरण गर्दै बिरामीको ज्यान समेत जोगाउने यस इमर्जेन्सी मेडिसिनको ज्ञान मेडिको(चिकित्सका क्षेत्रका)र नन–मेडिको (चिकित्सा क्षेत्र बाहिरका/गैर चिकित्सा) सबैमा हुनुपर्ने त्रिभुवन शिक्षण अस्पतालका इमर्जेन्सी मेडिसिन विभाग प्रमुख तथा इमर्जेन्सी फिजिसियन डा. रमेश महर्जन बताउँछन् ।


ADVERTISEMENT

# # #


जसलाई प्राथमिकता दिदैँ उनले चिकित्सक बाहेक नर्सहरुलाई पनि यससम्बन्धी (इमर्जेन्सी) उचित तालिम आवश्यक छ, भन्ने मान्यताका साथ सोसाइटी अफ इमर्जेन्सी नर्सेस इन नेपाल(सेन) मा समेत आबद्ध भई नर्सहरुका लागि आपतकालीन प्रशिक्षणहरु दिदैँ आएका छन् । वास्तवमै इमर्जेन्सी मेडिसिनको आवश्यकता आखिर किन छ ? भन्ने विषय र यसका लागि आगामी दिनमा थालिने भावी योजना सम्बन्धि डा. महर्जनसंग हिमालय पोष्टकर्मी सृजना मगरले गरेको कुराकानीको सम्पादित अंशः

सर्वप्रथम इमर्जेन्सी मेडिसिन सेवा भनेको के हो ? बताइदिनुस् न ।  

इमर्जेन्सी मेडिसिन भन्नाले जुनसुकै समय तथा अवस्थामा आवश्यक पर्ने उपचार भन्ने बुझिन्छ । यसलाई सहज रुपमा बुझ्नपर्दा व्यक्तिमा आकस्मिक रुपमा देखा परेको कुनै पनि स्वास्थ्य समस्याको समायावधिदेखि नै उनीहरुको ज्यान बचाउ गर्दै पीडा कम गराउन तत्काल दिइन सेवालाई नै इमर्जेन्सी मेडिसिन भनिन्छ ।

यस अर्थमा पनि के बुझ्न सकिन्छ भने, इमर्जेन्सी मेडिसिन कुनै पनि दुर्घटनाको स्थल अथवा व्यक्तिलाई आपत्कालीन समस्या देखिएको स्थानदेखि नै शुरुआत हुन्छ । जस्तोः सवारी दुर्घटनादेखि व्यक्तिलाई खाना अड्किँदा/सर्किदा अथवा बेहोस हुँदा सो व्यक्तिको ज्यान बचाउका लागि तत्काल गरिने उपचार नै इमर्जेन्सी मेडिसिन हो ।

त्यस्तो अवस्थामा नै बिरामीलाई अस्पताल ल्याइन्छ भने ती बिरामीलाई सबैभन्दा पहिले इमर्जेन्सी विभागले नै उपचार प्रदान गर्दछ । जसले तत्काल बिरामीको पीडालाई राहत दिनुका साथै उनीहरुको ज्यान जोगाउनसमेत अहम् भूमिका निर्वाह गर्दछ ।

त्यसपश्चात् बिरामीको अवस्था हेरेपछि बल्ल हामीले अन्य डाक्टरहरुको समन्वयतामा उनीहरुको आवश्यकता अनुसार, विभिन्न विभागमा रिफर गर्छौं । समग्रमा भन्नुपर्दा आकस्मिक रुपमा घट्ने घटनादेखि तत्काल देखापर्ने विभिन्न स्वास्थ्य समस्याको उपचारको पहिलो थलो नै इमर्जेन्सी मेडिसिन विभाग हो ।

इमर्जेन्सी मेडिसिन चिकित्सकले मात्रै प्रदान गर्ने उपचार हो ?

अघि मैँले भनेजस्तै इमर्जेन्सी मेडिसिन सेवा भनेको आकस्मिक आपतकालीन अवस्थामा व्यक्तिको ज्यान बचाउको निम्ति तत्काल दिइने प्राथमिक उपचार पनि हो । कुनैपनि आपतकालीन अवस्थामा चिकित्सकको पर्खाइमा बिरामीको ज्यान जोखिममा पार्नुभन्दा जो-कोहीले पनि सामान्य रुपमै सो सेवा प्रदान गरे बिरामीलाई बचाउन र ढिलो उपचारका कारण उनीहरुमा देखिने विकलांगको जोखिमलाई समेत न्यूनीकरण गर्न सकिन्छ ।

यद्यपि यसका लागि प्राथमिक उपचार दिने व्यक्तिमा बिरामीको ज्यान कसरी बचाउने ? भन्ने सामान्य ज्ञान भने आवश्यक पर्दछ । जस्तोः भनौँ दुर्घटनाका कारण रक्तश्राव भएका व्यक्तिको रगत धेरै बहन नदिन के गर्ने ? बेहोस भएका व्यक्तिलाई कुन भाग (बाया/दाँया) मा फर्काएर कोल्टे बनाउनेजस्ता आदि ।

समग्रमा भन्नुपर्दा, आपतकालीन अवस्थामा व्यक्तिको ज्यान बचाउका निमित्त मेडिको र नन–मेडिको सबै व्यक्तिले प्राथमिक उपचार दिन सक्छन् । तर, यदि प्राथमिक सेवा दिने व्यक्ति नन–मेडिको भएपनि सो व्यक्ति बिरामीको ज्यान कसरी जोगाउने? भन्ने विषयसम्बन्धि जानकारक हुनुपर्छ ।

तथापि तुलनात्मक रुपमा सेवा दिने व्यक्ति अझ चिकित्सक र मेडिको फिल्डकै भए बिरामीले तुलनात्मक रुपमा सही उपचारद्वारा उचित राहत पाउने सम्भावना प्रबल रहन्छ ।

तपाई सेनमा पनि आबद्ध हुनुहुन्छ । यसका लागि प्रेरणा कसरी मिल्यो ?

हाम्रो रेकर्डमा पछिल्लो महिनामा प्रत्येक हजार जना बिरामीमा ८ जनाको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु समेत भएको पाइएको छ । तसर्थ लामो समयदेखि यसरी सामान्य ज्ञानको अभावमै कुनै पनि बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यसका लागि के गर्न सकिन्छ ? भन्ने सोचमै थिए ।

यसैबीच प्रत्येक घटनास्थलमा तुरुन्तै चिकित्सक पुग्न सक्ने अवस्था नहुने भएकोले यसका लागि चिकित्सा क्षेत्रका नर्सहरुलाई पनि सहभागी गराउनुपर्छ भन्ने लाग्यो । एक त डाक्टर तथा नर्सका लागि पनि थुप्रो वर्ष पढ्नुपर्छ । मैँले पनि १२ वर्षको अथाह समय र मेहनत खर्चेर यस शिक्षा हासिल गरेको हुँ । र, यसरी आफुले हासिल गरेको ज्ञान संक्षिप्तमा मात्रै भएपनि साझा गर्दा अर्थपूर्ण रहन्छ भन्ने लाग्यो ।

हामी यस किसिमको तालिम प्रदान गर्ने उचित प्लाटफर्मको खोजीमा पनि थियौँ । तसर्थ त्यसै सोचको उपजस्वरुप इमर्जेन्सी नर्सको अवधारणा स्थापित भयो ।

स्थापनापछि संस्थालाई अघि बढाउन केकस्ता प्रक्रियाहरु चालिए ?

सेन त दर्ता भइसकेको थियो । योजना अनुरुप यसै संस्थामार्फत नर्सहरुलाई इमर्जेन्सी तालिम प्रदान गर्ने सोच थियो । तर, यसै शिलशिलामा बुझ्दै जाँदा नेपालमा यस किसिमको तालिम प्रदान गर्ने प्रशिक्षककै अभाव रहेको पाइयो । यद्यपि यसबाट हतोत्साही नभइकन यस तालिमबारे थप अध्ययन गर्न हामी स्वयम् विभिन्न देश धायौँ ।

त्यसैक्रममा थुप्रै कार्यगोष्ठी तथा कन्फरेन्शहरुमा सहभागी जनाएपछि अन्ततः हामीले झण्डै दुई वर्षअघि सोसाइटी आफ नर्सस इन नेपाल(सेन)को स्थापना गर्‍यौँ । जसमार्फत हामीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको टिचिङ अस्पतालबाट इमर्जेन्सी नर्सिङ तालिम प्रदान गर्न थाल्यौँ । जसका लागि पनि हामीले यस किसिमको प्रशिक्षण प्रदान गर्न दक्ष जनशक्तिका लागि विभिन्न देशलाई गुहार गरेका थियौ । जसका लागि हामी बैंकक, थाइल्याण्ड अस्पतालका विज्ञ नर्सहरु ल्याएर तालिम प्रदान गरेर नेपालमा पनि इमर्जेन्सी नर्सिङ तालिमको थालनी गरेका हौँ ।

र, टिचिङ अस्पतालमा काठमाडौँ भित्र र बाहिरका बिरामीहरुको भीड हुने भएकाले यसका लागि सबैभन्दा पहिले हामीले यसै अस्पतालका इमर्जेन्सीदेखी अन्य विभागका नर्सहरुलाई तालिम दिएर यसको पहिलो ब्याच शुरु गर्‍यौँ । यसका साथै देशको जुनसुकै स्थानमा यसको आवश्यकता रहेको र टिचिङ अस्पतालका नर्सहरुमा मात्रै यो सेवा सिमित गर्न हुदैँन भन्ने कुरालाई मनन गर्दै हामीले दोस्रो ब्याच देशभरका नर्सहरुका लागि खुल्ला गर्‍यौँ ।

यसमा हामीले आपतकालीन अवस्थामा तत्काल गर्न सकिने उपचारहरुलाई निश्चित समयावधि राखेर तालिम प्रदान गर्न थाल्यौ । र, खुशीको कुरा के छ, भने आज आएर निजी अस्पतालले समेत आपतकालीन नर्सिङ प्रशिक्षणको आवश्यकता महसुस गरेको छ । जसबाटे हामीलाई हाम्रो मिहिनेतले सार्थक पाउँदैछ भन्ने लागेको छ ।

सेनपछिको आगामी भावी योजना के छ त ?

 सेनबाहेक म चिकित्सकहरुका संगठन रहेको ‘नेपाल सोसाइटी अफ इमर्जेन्सी फिजिसियन’ को अर्काे समूहमा पनि आबद्ध छु ।

दुर्भाग्यवश् भन्नुपर्छ, नेपालमा अधिकांशलाई एम्बुलेन्स कसरी प्रयोग गर्ने भन्नेसम्म पनि थाहा छैन । बिरामीलाई अस्पतालसम्म ल्याउँदा एम्बुलेन्समा कसरी राख्ने? भन्नेसम्म पनि धेरैजसोलाई थाहा छैन । एम्बुलेन्समै पनि बिरामीलाई उचित सेवा/सुविधा प्रदान नहुँदा ज्यान जाने सम्भावना धेरै रहन्छ । तसर्थ एम्बुलेन्समै पनि इमर्जेन्सी सेवा दिने समूह नै प्यारामेडिक्सहरु हो ।

यसरी बिरामीलाई अस्पताल ल्याउने क्रम र सो अवधिमा प्यारामेडिक्स साथीहरुले मात्रै पनि धेरैको ज्यान बचाउने जोखिम न्यूनीकरण गर्ने भएकाले पनि हामीले यस किसिमको तालिम नर्सबाहेक प्यारामेडिक्सलाई समेत प्रदान गरिदैँ आएका छौँ ।

र, भविष्यमा अझै परिष्कृत हुदैँ गएको र यसको आवश्यकतालाई महसुस गरिएको खण्डमा यस किसिमको तालिम अन्य विभागीय चिकित्सकहरुलाई समेत प्रदान गर्ने योजनामा छौँ ।

https://www.facebook.com/HimalayaPostNepal/videos/482963693481781