काठमाडौँ– थाइल्यान्डमा जारी आइसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले चीनलाई १ सय ३ रनको लक्ष्य दिएको छ।


ADVERTISEMENT


ट्रेडथाइ क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय दुई रन बनायो। समूहको अन्तिम खेलमा राम्रो सुरुवात गर्न नसकेको नेपालले १४ रन हुँदा पहिलो विकेट गुमाएको थियो।


ADVERTISEMENT

# # #


त्यसपछि २० रनमा दोस्रो विकेट गुमाएको नेपालले ५१ रन हुँदा चार विकेट खेर फालिसकेको थियो। एकपछि अर्को विकेट गुमाउँदै गएको नेपालले ८३ रनमा आठौ विकेट गुमायो।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन बनाउँदा काजल श्रेष्ठले १६ रन बनाइन्। नेरी थापाले ११ रन बनाउँदा बाकि खेलाडीले दोहोरो रन जोडन सकेनन्।

यसैबीच जवाफी ब्याटिङ थालेको चीनले ६ ओभरमा ४ विकेट गुमाउँदै १६ रन बनाएर खेलिरहेको छ।

राउन्ड रोबिनमा भइरहेको प्रतियोगिताको ४ चरणको खेल सकिँदा थाइल्यान्ड ७ अंक जोड्दै शीर्ष स्थानमा छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ भने ५ अंक जोड्दै हङकङ तेस्रो स्थानमा छ। ४ अंक जोडेको नेपाल चौथो स्थानमा छ।

यी ४ टिम मध्ये २ टिम छनोट प्रतियोगिताका लागि छानिनेछन्। नेपालबाहेक ३ टिमको छनोट सम्भावना बलियो छ। नेपालका लागि भने आइतबार आफूले जितेर मात्र पुग्दैन, अन्य टिमको नजितामा भर पर्नुपर्नेछ ।

आइतबार नेपालले चीनसँग प्रतिस्पर्धा गरिरहेको छ। आइतबार नै थाइल्यान्ड र हङकङ तथा युएई र मलेसिया प्रतिस्पर्धा गर्दैछन्। थाइल्यान्ड र मलेसिया विजयी भए मात्र नेपालको छनोट सम्भावना हुनेछ।

आइतबार नेपाल, थाइल्यान्ड र मलेसिया विजयी भएको अवस्थामा थाइल्यान्ड पहिलो भएर छनोट हुनेछ। चीनलाई फराकिलो अन्तरले पराजित गरे नेपालले युएईलाई रन रेटमा पछि पारेर दोस्रो हुँदै छनोट हुनेछ।

सुरुवाती २ खेल वर्षाले रद्द हुँदा नेपाल अंक बाँड्न बाध्य भएको थियो। आयोजक थाइल्यान्डसँगको खेल जारी रहँदा भारी वर्षा भएपछि खेल अवरुद्ध बनेको थियो। चिसो आउटफिल्डका कारण हङकङविरुद्धको दोस्रो खेल सुरु नै नभई रद्द हुँदा नेपालले लगातार दोस्रो खेलमा अंक बाँड्यो।

तेस्रो खेलमा युएईसँग पराजित हुनु नेपाली टिमका लागि दुर्भाग्य साबित भयो। महिला क्रिकेटमा युएईसँग पहिलो हार बेहोर्ने क्रममा नेपाल ५ रनले पराजित भएको थियो।

चौथो खेलमा पहिलो जित हात पारेर नेपालले छनोट सम्भावना कायमै राखेको हो।

आइतबार हुने लिग चरणको अन्तिम खेलहरुबाट २ टिम छानिएसँगै नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिता खेल्ने ८ वटै टिमको टुंगो लाग्नेछ।

छनोट प्रतियोगिताका लागि ६ टिम यसअघि नै छानिइसकेका छन्। बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड्स र युगान्डा छनोट भइसकेका छन्।