रामचन्द्र पाण्डे, काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभाको सदस्यका लागि आज हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा भएको निर्वाचन केही छिठफुट घटनाका बाबजुत शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानको समय सकिएसंगै चुनावी प्रतिस्पर्धामा रहेका ७०२ उम्मेदवारको भविष्य मतपेटिकामा शीलबन्दी भएको छ ।


ADVERTISEMENT


यस अघिको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशथ मतदान भएपनि यस पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ६० प्रतिशत मतदान भएको छ । तर निर्वाचन आयोगले आधिकारिक रुपमा सार्वजनिक भने गरेको छैन । कतिपय ठाउँको तथ्याङ्क आएको छैन भने केही मतदाता अझैँ लाइनमा भएकाले मतप्रतिशत बढ्ने अनुमान गर्न सकिन्छ ।


ADVERTISEMENT

# # #


बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपरान्ह ५ बजे सकिएको हो । चिसो मौसमका बाबजुद पनि निकै उत्साहका साथ मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेर मतदाताले मत खसालेका छन् ।

मतदान सम्पन्न भएपनि मतगणना भने मंसिर २१ गतेपछि मात्रै हुनेछ । मतदान सम्पन्न भएसंगै मतपेटिका सील गरेर सदरमुकाम पठाउने  प्रक्रिया अगाडी बढेको छ । मतपेटिकालाई निर्वाचन अधिकृतको साथमा सुरक्षा फौजले कडा सुरक्षा दिएर सदरमुकाम मा ल्याउने छन् । केही क्षेत्रमा अतिसंवेदनशील र दुर्गम मानिएका केही क्षेत्रका मतपेटिका हेलिकोप्टर मार्फत जिल्लामा ल्याइनेछ ।

मतपेटिका मुख्य अधिकृतको कार्यालयमा पुर्याएपछि कडा सुरक्षाका साथ मंसिर २१ गतेसम्म राखिने छ । तीन चरणमा भएको यस अघिको स्थानीय निर्वाचनमा मतदान सकिएलगत्तै मतगणना गरिएको थियो ।

छुट्टा छुट्टै मतगणना गर्दा अर्को चरणको निर्वाचन र त्यसको परिणाममा प्रभाव परेको भन्ने गुनासो आएपछि निर्वाचन अयोगले दुईवटै चरणको निर्वाचन सम्पन्न भएपछि मात्रै मतगणना गर्ने निर्णय गरेको थियो । आज निर्वाचन भएका जिल्लाका मतपेटिका पनि दोस्रो चरणको निर्वाचन सकिएपछि मात्रै खोलिने छ । दास्रो चरणअन्तर्गत ४५ जिल्लामा यही २१ गते निर्वाचन हुँदैछ ।

पहिलो चरण अन्तर्गत प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा आज मतदान भएको थियो ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रहरुमा मतदान भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणको निर्वाचनमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

यो निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्ने भएपनि विविध कारणले प्रतिशत माधै मत खसेको छ । पहिलो चरणको निर्वाचनमा दुई हजार ९१९ मतदानस्थल र चार हजार ४६५ मतदान केन्द्र कायम गरिएको थियो ।

सोलुखुम्बुको तिङलाका जनताले मतदान बहिस्कार गरेका छन् भने पश्चिम रुकुमको बाफीकोटस्थित रत्न मावि मतदान केन्द्रमा मतपत्र जलाइएपछि त्यहाँ प्रतिनिधिसभातर्फ मंसिर २१ गते पुनः मतदान हुनेछ ।

आफूहरुलाई नगरपालिकामा नगाभेर गाउँपालिकामा समावेश गराइएको भन्दै असन्तुष्ट बनेका तिङलावासीले यस अघिको स्थानीय तहको निर्वाचन पनि बहिष्कार गरेका थिए ।