काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने बताएका छन् । उनले उदारवादी लोकतन्त्र, कम्युनिस्ट ब्राण्ड (समाजवादी धार) र समावेशी लोकतान्त्रिक धार रहने बताए ।


ADVERTISEMENT


काँग्रेसले उदारवादी लोकतान्त्रिक धारको प्रतिनिधित्व गर्ने उनको भनाइ छ । उनका अनुसार जति टुक्रा भए पनि कम्युनिस्ट पार्टीहरूको एउटा धार रहने र जसपाको नेतृत्वमा समावेशी लोकतान्त्रिक धार हुनेछ ।


ADVERTISEMENT

# # #


तर, उनले कम्युनिस्ट धार केही समय रहने र जसपाले प्रतिनिधित्व गर्ने धार भविष्यमा ठूलो हुने दाबी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा डा भट्टराईले लेखेका छन्, ‘नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ है १ काँग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार छ ।

कम्युनिस्ट ब्राण्ड जति टुक्रा भए पनि त्यो एउटै धार हो र केही समय रहन्छ । अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेशी लोकतान्त्रिक धार हो । जसपा त्यसको भ्रूण हो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि विदेशी शक्तिहरूले नेपालमा दुई धारको पार्टी मात्र अस्तित्वमा रहनेगरीको खेल खेल्दै आएको टिप्पणी गरेका थिए । एमाले महासचिव शंकर पोखरेलले पनि नेपालमा काँग्रेसले प्रतिनिधित्व गर्दै पुँजीवादी र एमालेले प्रतिनिधित्व गर्ने समाजवादी धार मात्रै रहेको बताउँदै आएका छन् । यही पृष्ठभूमिमा डा भट्टराईको अभिव्यक्ति आएको हो ।