काठमाडौँ – युक्रेन रसिया तनावले उत्पन्न उर्जा संकटका कारण बिजुलीको मूल्य बढेसँगै नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गर्ने भएको छ । बिहीबार पत्रकारसम्मेलन गर्दै प्राधिकरणले भारतबाट खरिद गर्न लागेको यो मूल्य अहिलेसम्मकै उच्च रहेको बताएको छ ।


ADVERTISEMENT


माग र आपूर्ति व्यवस्थापनका लागि नेपालले भारतको प्रतिस्प्रर्धी बजारबाट नियमित दर ८ रुपैयाँमा बिजुली किन्दै आएको थियो । तर, पछिल्ला दिनहरुमा भारु १५ रुपैयाँ भारुमा पनि बिजुली पाइन छाडेकाले महंगै मूल्यमा भए पनि बिजुली किन्न लागेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए । उनले आज रातीदेखि प्राधिकरणले २० रुपैयाँ भारुमा बिजुली किन्ने गरी सम्झौता जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘आजदेखि कार्यकारी निर्देशकको निर्देशनपछि हामीले २० रुपैयाँ भारु प्रतियुनिट, त्यो भनेको नेपालमा ३८ रुपैयाँ प्रतियुनिट पर्छ, भरे १२ बजेर १५ मिनेटमा हाम्रो सबै सिष्टम नर्मल भएपछि त्यसबाट सात हजार मेगावाट आवर बिजुली किन्छौं’

विगत तीन दिनमा नेपालले भारतीय बजारबाट आवश्यकता अनुसार बिजुली किन्न नपाएपछि नेपालका उद्योगहरुमा विद्युत आपूर्तिमा समस्या आएको थियो । बिजुली व्यवस्थापनका लागि महंगो मूल्यमा बिजुली किन्न बाध्य भएको प्रवक्ता भट्टराईले बताए ।

प्राधिकरणले अहिले सामान्य ग्राहकलाई प्रतियुनिट ८ रुपैयाँ ८७ पैसा रुपैयाँ र औद्योगिक क्षेत्रका ग्राहकलाई प्रतियुनिट १० रुपैयाँ १२ पैसा रुपैयाँमा बिजुली बेच्दै आएको छ । समग्रमा प्राधिकरणले प्रतियुनिट ९ रुपैयाँ ९४ रुपैयाँमा बिजुली बेच्छ ।

भारतबाट ३८ रुपैयाँ प्रतियुनिटमा किन्ने बिजुली ग्राहकप्रतिको प्रतिवद्धताका कारण नै सोही मूल्यमा बेच्न लागेको प्राधिकरणको भनाई छ । पछिल्लो समय देखिएको संकट छोटो समयसम्मको मात्रै हुनसक्ने र एकडेढ महिनामा नेपालको आफ्नै बिजुलीले पुग्ने प्राधिकरणको अनुमान छ ।

केही समयका लागि घाटा खाएरै भए पनि बिजुली आपूर्ति गर्न लागेको प्राधिकरणले अहिले मासिक करिब ७ अर्ब बराबरको ६९३ गिगावाट आवर बिजुली बेच्दै आएको छ ।

उर्जासंकट आए पनि लोडसेडिङ गर्दैनौँ : कुलमान

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जस्तोसुकै उर्जासंकट आए पनि नेपालमा लोडसेडिङ नहुने बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले गत वर्षको भन्दा नेपालमा बिजुली उत्पादत बढेको, हिउँ पग्लिन सुरु भएको र वर्खा लागेसँगै नेपालको उत्पादनले नै धान्ने भएकाले लोडसेडिङ कदापी नहुने बताए ।

उनले भने, ‘यसपाली हिउँ राम्रो परेको छ । अब चाँडै वर्षा पनि सुरु हुन सक्छ । विभिन्न सम्भावनाहरु छन् । यसले ठूलो असर परेर नेपालमा लोडसेडिङ नै हुन्छ भन्ने छैन । लोडकेडिङ कदापी हुँदैन । कसैलाई पनि लोडसेडिङ गरिँदैन ।’

नेपालले अहिले भारतबाट दैनिक करिब २–३ सय मेगावाट बिजुली आपूर्ति गरिरहेको र त्यो पनि समय समय अनुसार दर फरक पर्ने भएकाले उर्जा संकटबाट धेरै ठूलो असर नपर्ने कुलमानले बताए । उनले भने, ‘हामीले विगत ३–४ महिना त सस्तोमा बिजुली किनेको छौँ नि । ३ रुपैयाँमा पनि किनेको छौँ । अहिले यो छोटो समयमा लागि आएको संकट हो । वर्षभरिको अनुपात मिलाउँदा धेरै ठूलो असर नपर्ने र परिहाले पनि सरकारसँग सहयोगको आग्रह गर्छौँ ।’

नेपालमा उद्योग खोल्नुपर्छ, उद्योग आउनुपर्छ भन्ने मनोबल बढाउनका लागि प्राधिकरणले भारु २० रुपैयाँमा किनेर घाटा खाएरै भए पनि उद्योगहरुलाई बिजुली दिइरहेको कुलमानले बताए ।