काठमाडौँ– नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयले कुनै पनि वित्तिय कारोबार कानुनी माध्यमबाट मात्रै गर्न आग्रह गरेको छ । कार्यालयका निर्देशक राजनदेव भट्टराईले वित्तिय कारोबार गर्दा कानुनी माध्यम मात्रै प्रयोग गर्न आग्रह गरेको हो ।


ADVERTISEMENT


शनिवार पर्साको पोखरिया नगरपालिकास्थित ग्लोबल मनी वीक, २०२२ को ‘वित्तीय साक्षरता कार्यक्रम’ लाई सम्बोधन गर्ने क्रममा उनले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले वित्तीय साक्षरताको वर्तमान अवस्था, बढ्दो बैंकिङ ठगी, साइबर अपराध र गैरकानूनी वित्तीय कारोवारका बारेमा चर्चा गर्दै कुनै पनि वित्तीय कारोबार गर्न कानुनी माध्यम मात्र प्रयोग गर्न सर्वसाधारणलाई सुझाएका हुन् ।

यस्तै, कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित भएका खरिया नगरपालिकाका मेयर दीपनारायण प्रसाद रौनियारले नगरपालिकामा बैंक तथा वित्तीय संस्थाको संख्या बढेकाले बचत खाता, मनी ट्रान्सफर, कर्जाको सदुपयोग गर्ने जस्ता बैंकिङ सेवाबाट लाभ लिन नगरपालिकाका स्थानीयलाई उनले सुझाए । यसैगरि, उनले दैनिक वित्तीय कारोवारमा बैंकिङ आचरण अभिवृद्धि गर्न र स्थानीय तहमा रहेका अन्यलाई बैंकिङ ज्ञान र सूचना प्रवाह गर्न समेत आग्रह गरे ।

निर्देशक भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपनिर्देशक श्रीमती सुधा श्रेष्ठ, कार्यवाहक उपनिर्देशक कृष्णकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक प्रदीप बानियाँ, वीरगन्जका ‘क’ वर्ग बैंकका प्रतिनिधि, पोखरिया नगरपालिकाका वडा प्रतिनिधि तथा विभिन्न स्थानीय नागरिकलगायतको उपस्थिति रहेको थियो ।