काठमाडौँ– दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले रिलिज भएको पहिलो दिनमै मनग्य आम्दानी गरेको छ । शुक्रवारबाट मात्रै प्रदर्शनमा आएको यस चलचित्रको पहिलो दिनको कमाईले यसअघि ‘बाहुबली २’ ले राखेको रेकर्डलाई समेत तोडेको छ ।


ADVERTISEMENT


बक्स अफिसका अनुसार, फिल्मले पहिलो दिनमै २ सय करोड बढी भारूको व्यापार गरेको छ । जुन भारतीय फिल्मका लागि सबैभन्दा ठूलो ‘ओपनिङ डे’ कलेक्सनसमेत हो।


ADVERTISEMENT

# # #


फिल्मले पहिलो दिनमै दुई सय २३ करोड कमाएको छ । जबकी यसअघि ‘बाहुबली २’ ले पहिलो दिन २१७ करोड र ‘बाहुबली’ ले विश्वभर ७५ करोडको कमाई गरेको थियो ।

यी तीनै फिल्मका निर्देशक एसएस राजामौली हुन् । मौलिकता र यथार्थमा रहेर दर्शकलाई नयाँ स्वाद चखाउन माहिर निर्देशक राजामौलीले हरेक पटक नयाँ फिल्ममार्फत आफ्नै रेकर्डलाई तोड्दै गएको देखिन्छ ।

चलचित्रले विश्वभर नै राम्रो व्यापार गरेको दाबी गर्दै ‘आरआरआर’ निर्माताले चलचित्रको आम्दानी तथ्यांक समेत सार्वजनिक गरेको छ । तथ्यांकअनुसार, चलचित्रले भारतबाट १ सय ५६ करोड र विदेशबाट ६७ करोड कमाइ गरेको हो ।

के छ त्यस्तो जसले फिल्मलाई हिट बनायो ?

समग्रमा हेर्ने हो भने दक्षिण भारतीय फिल्ममा कुनै पनि निर्देशकले दुवै स्टार नायकलाई एकैसाथ पर्दामा ल्याउने आँट गर्दैनन् । जसको कारण एक त उनीहरुलाई दिइने उच्च पारिश्रमिक हो भने, स्टारहरु पनि आफ्नो स्टारडमका कारण हतपत जुनसुकै फिल्ममा काम गर्न तयार हुदैनन् ।

तर, यस फिल्ममा भने निर्देशक राजामौलीले दक्षिण एसियाका चर्चित स्टारद्वय एनटीआर र रामचरणलाई एकैसाथ पर्दामा उतारेका छन् । जसले पनि दर्शकलाई उत्साहित बनाएको छ । यसैगरि,  यी दुई स्टारसंगै चलचित्रमा बलिउडका स्टारद्वय अजय देवगण र आलिया भट्टको पनि अभिनय देख्न सकिन्छ ।

सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको मुख्य कथावस्तुमा आधिरत सो चलचित्रमा उनले देशभक्ति, मित्रता र प्रेमलाई स्वादिष्टका साथ पस्केका छन् भने, दुई अलग–अलग परिवेशका सामान्य युवाहरु जसको फरक–फरक लक्ष्य एवम् कथा छ, कसरी उनीहरु एकआपसमा जोडिन्छन् ? र, लक्ष्य हासिल गर्छन् ? भन्ने कुरालाई निकै रोचक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

यस्तै, कोरोना महामारीका कारण लामो समय बन्द भएर भर्खरै खुलेका सिने हलमै गएर फिल्म हेर्ने दर्शकको हुटहुटीलाई पनि फिल्मले व्यापारिक सफलता हासिल गर्नुको अर्काे कारण मान्न सकिन्छ ।