काठमाडौँ– सरकारले प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले नेपाल र भारतको बीचमा शदियौँदेखि रहदै आएको सम्बन्ध थप प्रगाढ हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


भारत भ्रमण मुलुकको हितमा केन्द्रित रहने उनको भनाई छ । मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै बैठकले अरुण ३ जलविद्युत परियोजनाको पहूँच मार्ग अन्तर्गत छ्याङकुटि–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ भने विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा नेपालको सहभागीताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले उत्पादनमुलक उद्योगलाई औधोगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले राष्ट्रिय भूमि आयोग गठन आदेश बमोजिम ४३ जिल्लाका अध्यक्ष नियुक्त गर्ने, न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने र गोरखापत्र संस्थानको रिक्त महाप्रवन्धक पदमा लाल बहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।