काठमाण्डौं-गृह मन्त्रालयले आइतबार भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्रका लागि कडा सुरक्षा व्यवस्था गरिएको जनाएको छ । गृहका अनुसार मतदानका बेलामा जस्तै मतपत्रको सुरक्षाका लागि पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरा रहनेछन् । गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले सेनाका अतिरिक्त मतदानका दिन खटिएको मोबाइल टोली र तयारी अवस्थामा रहेको सशस्त्रको टोली पनि मतपत्र सुरक्षामा खटिने जानकारी दिए । गृह स्रोतका अनुसार सोमबार रातिसम्म धेरैजसो स्थानबाट मतपत्र सदरमुकाम ओसारी सकिनेछ । प्रदेश ३ का सबै मतदान केन्द्रबाट मतपत्र जिल्ला सदरमुकाममा ओसारिइसकिएको छ । प्रदेश १ को मतपत्र पनि सोमबार रातभरिमा ओसारी सकिने अनुमान छ ।


ADVERTISEMENT


प्रदेश ७ का एआईजी विजयकुमार भट्टका अनुसार दार्चुलाको उच्च हिमाली भेगमा पर्ने तीन मतदान केन्द्र र बझाङको काडा गाउँपालिकाको मतदान केन्द्रबाट मात्रै मतपत्र ओसार्न बाँकी छ । उनले बझाङको मतपत्र हिँडाएर मंगलबारसम्म सदरमुकाम ल्याइपुर्‍याइने र दार्चुलाको मतपत्र मंगलबार नै ओसारिने बताए ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगका अनुसार सोमबार चार बजेसम्म ३२ जिल्लाका २ हजार ९ सय १७ मतदान स्थलमध्ये २ हजार ४ सय १० का मतपेटिका सम्बन्धित जिल्लाको सदरमुकाम ल्याइसकिएको छ । आयोगका अनुसार ४० मतदान स्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ भने ४ सय ६७ मतदान स्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी छ । मंगलबार साँझसम्ममा सबै मतपेटिका जिल्ला सदरमुकाम आइसक्ने जानकारी निर्वाचन आयोगले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता दुवाडीका अनुसार सदरमुकाममा रहेका र सुरक्षाका दृष्टिले भरपर्दो सरकारी कार्यालयमा मतपत्र सिलबन्दी गरेर राखिनेछ । मतपत्र कसरी सुरक्षित राख्ने भन्नेबारे जिल्ला सुरक्षा समितिले अवस्था हेरेर निर्णय लिने बताए । जिल्लाका सबै मतपत्र एकै स्थानमा भण्डार गर्ने व्यवस्था मिलाइएको पनि गृहको भनाइ छ ।

त्यसो गर्दा केन्द्रीकृत सुरक्षा दिन सजिलो हुने मन्त्रालयको ठम्याइ छ । प्रदेश १ का एआईजी उपाध्यायले जिल्लामा सबैभन्दा सुरक्षित मानिने तथा अग्लो पर्खाल भएको सरकारी भवनमा मतपत्र राखिएको बताए । प्रदेश ७ का एआईजी भट्टले पनि सुरक्षाका दृष्टिले बलियो मानिने सरकारी भवनमा मतपत्र भण्डारण गरिएको बताए । उनका अनुसार बझाङमा जिल्ला प्रहरी कार्यालय नजिकैको हुलाक भवनमा र दार्चुलामा जिप्रका छेवैको कर्मचारी आवास केन्द्रमा मतपत्र राखिएको छ ।

लमजुङ र पाँचथरमा सबै मतपत्र जिल्ला समन्वय समितिको हलमा राखिएको छ । सबैजसो जिल्लामा दलका प्रतिनिधिको समन्वयमा मतपत्र सुरक्षाको रणनीति बनाइएको छ । गृहका अनुसार केही जिल्लामा भने दलका प्रतिनिधिहरूले सीसीटीभी क्यामेरा पनि राखेका छन् भने केही जिल्लामा दलका प्रतिनिधिले मतपत्र रहेको कोठामा आफ्नै सिलबन्दी गरेका छन् ।