काठमाण्डौं-चुनावी तयारी क्रममा यस वर्ष पेट्रोलियम खपतले नयाँ रेकर्ड कायम गरेको छ । आयल निगमले भदौ १६ देखि मंसिर ४ गतेसम्म जति इन्धन बेचेको छ, त्यति इन्धन यही अवधिमा अहिलेसम्म विक्री भएको थिएन ।


ADVERTISEMENT


‘निर्वाचनले इन्धन माग उच्च बनाएको छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘आपूर्ति गर्न हम्मे नै परिसक्यो।’ निगमका अनुसार भदौ १६ देखि मंसिर ४ सम्म १ लाख १० हजार ८ सय किलोलिटर पेट्रोल खपत भएको छ । गत आर्थिक वर्ष २०७३/७४ को १२ महिनामा ४ लाख २ हजार २ सय ७८ किलोलिटर खपत भएको थियो।


ADVERTISEMENT

# # #


यो तथ्यांक २ महिना २२ दिनको हो । ‘यही क्रम जारी रहे दोस्रो चरणको चुनाव सकिँदासम्म लगभग गत वर्षको आधा खपत हुनेछ,’ भट्टराईले भने । निगमको तथ्यांक हेर्ने हो भने भदौयता इन्धन खपत क्रमिक रूपले बढ्दै गएको छ। भदौ १६ देखि असोज १४ सम्म ३५ हजार ५ सय किलोलिटर पेट्रोल खपत भएको थियो। त्यसपछि कात्तिक १६ सम्म आइपुग्दा एक महिनामै ४२ हजार ३ सय लिटर पुग्यो । यो अघिल्लो महिनाभन्दा ६ हजार ८ सय किलोलिटर बढी हो ।

कात्तिक १६ देखि मंसिर ४ सम्म खपत अझ बढेको देखिन्छ । २२ दिन अवधिमा मात्र ३३ हजार किलोलिटर खपत भएको छ ।
‘हुन त यो विकासका काम बढ्ने समय हो । त्यसले मात्र इन्धनको माग यसरी बढाउँदैन । चुनावले नै इन्धन आयात र विक्री हालसम्मकै उच्च बनाएको छ,’ भट्टराईले भने ।

यसै अवधिमा डिजेल खपत पनि अत्यधिक छ । चुनावी प्रचारमा ठूलो संख्याले सवारी प्रयोग भएकाले डिजेल माग बढेको भट्टराई बताउँछन् । गत भदौ १६ देखि असोज १४ सम्म ८३ हजार किलोलिटर खपत भएको डिजेल अर्को एक महिना (असोज १६ देखि कात्तिक १४ सम्म) मा १७ हजार बढेर १ लाख पुगेको भट्टराईले जानकारी दिए ।

कात्तिक १४ देखि मंसिर ६ गतेसम्म करीब २२ दिनमा मात्रै डिजेल खपत २ लाख ८६ हजार किलोलिटर पुगिसकेको छ । गत आर्थिक वर्षभरीमा १२ लाख ९७ हजार किलोलिटर डिजेल खपत भएको थियो ।

‘मासिक घाटा ५५ करोड नाघिसक्यो,’ उनले भने, ‘भारतीय आयल निगमबाट बढेर आएको मूल्यअनुरुप नेपालमा समायोजन हुन नसक्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १४ पैसा, डिजेलमा ३ रुपैयाँ ९८ पैसा तथा मट्टितेलमा १५ रुपैयाँ घाटा छ ।’ हवाइ इन्धनमा पनि घाटै भएको उनको दाबी छ । आन्तरिक उडानमा प्रतिलिटर १२ रुपैयाँ र अन्तर्राष्ट्रियमा १८ रुपैयाँ ३१ पैसा घाटा भएको उनले जानकारी दिए ।