काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विविध संस्कृति र भाषाभाषी मिलेर बनेको नेपाललाई समृद्ध राष्ट्र बनाउन एकताबद्ध प्रयास गर्न आवश्यक भएको बताएका छन्।


ADVERTISEMENT


पूर्वप्रधानमन्त्री नेपालले मैथिली विकास कोषको आयोजनामा बुधबारदेखि जनकपुरधाममा सुरु भएको ‘जनकपुर साहित्य, कला तथा नाट्य महोत्सव’को उद्घाटन गर्दै मैथिली भाषा तथा संस्कृतिको इतिहास पाँच हजार वर्ष पुरानो भएकाले यसको विकासका लागि यस्ता प्रकारको महोत्सव महत्वपूर्ण रहेको बताए ।


ADVERTISEMENT

# # #


अधिकारप्राप्तिका लागि घृणा नभई सद्भाव एवं सहकार्यको आवश्यकता भएको चर्चा गर्दै अध्यक्ष नेपालले आफू प्रधानमन्त्री भएका बेलामा नै विद्यापति कोषको स्थापना गरेको बताए ।

अध्यक्ष नेपालले मुलुकको विविधतालाई सही किसिमले व्यवस्थापन गर्न आवश्यक रहेकामा जोड दिए । उनले मैथिली भाषा तथा साहित्यको समृद्धिका लागि राज्यबाट हुनुपर्ने सहयोग गराउनका लागि आफू तयार रहेको बताए ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेश सरकारले चाँडै भाषा, साहित्य तथा संस्कृतिको विकास एवं संरक्षणका लागि मधेश प्रज्ञा–प्रतिष्ठान स्थापना गर्ने जानकारी दिए ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले मैथली भाषा आफैँमा समृद्ध भाषा रहेको र यसको संरक्षणका लागि आफ्नो मन्त्रालय विभिन्न चरणमा सहयोग गर्न तयार रहेको बताए ।

उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले मैथिली विकास कोषले प्रदान गर्दै आएको ‘डा धीरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७’ भाषा वैज्ञानिक ‘डा रामअवतार यादव र सलहेश सांस्कृतिक पुरस्कार २०७७’ डा आभास लाभलाई प्रदान गरे ।

यसैगरी ‘डा धीरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८’ साहित्यकार ‘महेन्द्र मिश्र र सलहेश सांस्कृतिक पुरस्कार २०७८’ गायक रामा मण्डललाई प्रदान गरे । दुवै पुरस्कार ५१ हजार नगद, सम्मानपत्र तथा दोसल्ला रहेको छ। चैत २५ गतेसम्म चल्ने कार्यक्रममा विभिन्न प्रकारका गीत, सङ्गीत, नृत्य र झाँकी प्रदर्शन गरिएको थियो। महोत्सवमा मैथिली भाषा साहित्यको विभिन्न विषयमा छलफल हुने आयोजकले जनाएको छ ।