तम्घास – सर्वेक्षण भएको डेढ दशकसम्म उडान शुरु नभएकोे रेसुङ्गा विमानस्थल र जिल्लाको लाइफलाइनसँग जोडिएको कालीगण्डकी करिडोर निर्माण गुल्मीका मुख्य चुनावी मुद्दा बनेको छ ।


ADVERTISEMENT


आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य दलले विमानस्थल र करिडोरका साथै तानसेन–रिडी–तम्घास सडक तथा रिडी–रुद्रवेणी– वामीटक्सार सडक कालोपत्र, शिक्षा, स्वास्थ्य र खानेपानी योजना तथा जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारेका छन् । पूर्वाधार, पर्यटन, कृषि, मानव संशाधन र सामाजिक विकासलाई सबै उम्मेदवारले उठाएका छन् ।


ADVERTISEMENT

# # #


वाम गठबन्धनले एक वर्षभित्र प्रत्येक जिल्लाका सबै वडा तहमा सडक बाटो लाने, बिजुली, खानेपानी सेवा उपलब्ध गराउने, खरका छानोबाट जनतालाई मुक्त बनाउने, वृद्धभत्तालाई मासिक रु पाँच हजार पु¥याउने घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको क्षेत्र नं १ मा एमालेका सचिव प्रदीप ज्ञवालीले रेसुङ्गा विमानस्थलको निर्माण कार्य आफूले शुरु गरे पनि पछिल्लो समयमा बजेट कटौतीमा परेर ओझेल परेको जनाउँदै आउँदो वैशाखभित्र परीक्षण उडान शुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले विमानस्थलका लागि बजेट निरन्तर राखिएको दाबी गरेका छन्।

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन र काँग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा छ तर स्थानीय तहको निर्वाचनको मत परिणामले वाम गठबन्धन उत्साहित देखिन्छन् ।

प्रतिनिधिसभाको क्षेत्र नं २ मा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री गोकर्णराज विष्ट र काँग्रेसका पूर्व जिविस सभापति चन्द्रबहादुर केसीबीच मुख्य प्रतिस्पर्धा छ । सचिव विष्ट आफूसँग कसैको प्रतिस्पर्धा नभए पनि जनतासँग प्रत्यक्ष भेट्न र उनीहरुका कुरा सुन्नका लागि घरदैलोमा रहेको बताउँछन् भने काँग्रेसका उम्मेदवार केसी लोकतन्त्र र समृद्धिका लागि आफू विजयी हुनुपर्ने जिकिर गर्छन् ।

जिल्लामा क्षेत्र नं १ को प्रदेशसभामा वाम गठबन्धनबाट सुदर्शन बराल र कमलराज श्रेष्ठ तथा काँग्रेसबाट पृथ्वी फौजदार र धनेन्द्र कार्की प्रतिस्पर्धामा छन् । क्षेत्र नं २ को प्रदेशसभामा गठबन्धनबाट खड्गबहादुर खत्री र दिनेश पन्थी तथा काँग्रेसबाट शालिक पन्थी र छन्द पहराई उम्मेदवार छन् । जिल्लामा स्वतन्त्रसहित नौ दलले गरी ५२ उम्मेदवारी दिएका छन् ।