काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गर्नुको कारण खोलेका छन् । उनले गर्भनर अधिकारी अर्थमन्त्री जनार्दन शर्माप्रति असहयोगी देखिएका कारण उनलाई पदमुक्त गरिएको बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्माको तर्फबाट गर्भनर अधिकारीले आफुलाई सहयोग नगरेको गुनासो बारम्बार आएपछि कारवाही स्वरुप उनलाई पदमुक्त गरिएको बताएका हुन् । उनका अनुसार आफूलाई काम गर्न नदिएको र आफूले गरेका सबै काममा असहयोग गरेको अर्थमन्त्रीले गुनासो गरेका थिए ।


ADVERTISEMENT

# # #


सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले भने, ‘अर्थमन्त्रीजीले मलाई गभर्नरले एकदम धेरै असहयोग गर्‍यो भन्नुभयो । यस्तो बेलामा गभर्नरले सहयोग त गर्नुपर्‍यो नि !’

सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो । त्यससँगै अधिकारी स्वतः निलम्बनमा परेका हुन् ।

यद्यपि मुलुकमा आर्थिक संकटको सम्भावना उच्च रहेको बेला गर्भनरलाई पदमुक्त गरिनु उचित नभएको भन्दै सरकारको सो निर्णयमाथि सर्वसाधारणसंगै राजनतिज्ञ एवम् सरोकारवालाहरुले समेत प्रश्न उठाएका छन् ।