काठमाडौँ – सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गर्नका लागि ७ वटा संयन्त्र र आधार तय गरेको छ ।


ADVERTISEMENT


मंगलबार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


जस अनुसार महानगरपालिका र उपमहानगरपालिका मेयर र उपमेयरको गठबन्धनको सिट बाँडफाँड केन्द्रीय संयन्त्रले गर्ने भएको सरकारका प्रवक्ता तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै नगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखहरुको लागि जिल्ला संयन्त्रको सिफारिसमा प्रदेशले निर्णय गरी केन्द्रलाई पठाउने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले बताए ।

यस्तै तालमेलका लागि गठबन्धनका प्रत्येक दलको प्रमुखसहित २–२ जना प्रतिनिधिसहितको प्रदेश र जिल्ला संयन्त्र बनाउने निर्णय भएको छ ।

सिट बाँडफाँडको लागि ६ संयन्त्र

१. महानगरपालिका, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको सिट बाँडफाडको निर्णय पाच्दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।
२. नगरपालिका र गाउँपालिको क्रमशः प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँडको आवश्यक निर्णय गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफरिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी बैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।
३. सबै किसिमका स्थानीय तहका वडा अध्यक्ष तथा वडा सदस्यहरुको सिट बाँडफाँडको निर्णय वैशाख ३ गतेभित्र टुंगो लगाउने ।
४. तालमेलका लागि प्रदेश र जिल्ला संयन्त्रमा गठबन्धनका प्रत्येक दलको प्रमुखसहित २–२ जना प्रतिनिधि रहने ।
५. प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ–आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्ने ।
६. सबै तहको बैठकको संयोजन नेपाली काँग्रसका सम्बन्धित तहका सभापतिले गर्ने ।

सिट बाँडफाँडको लागि ७ आधार

१. वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई यसै अनुसार मान्ने ।
२. वि.सं. २०७४ को स्थानीय तहको निर्वाचन दलका उम्मेदवारले पालिका र वडामा प्राप्त गरेको मतको मतभार ।

३. वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गरेको नभएता पनि स्थानीय तहमा उपस्थिति रही यथाशक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने ।
४. वि.सं. २०७४ को स्थानीय तहको निर्वाचन गठबन्धन बाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरुले उक्त प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । यसका साथै उक्त तहमा दलका उम्मेदवारले प्राप्त गरेको मतभारलाई पनि आधार बनाउने ।
५. नेकपा एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा बुँदा नं. ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्ति रहेको यथार्थ मनन् गर्ने ।

६. गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरिक्त वर्तमान समयमा गठबन्धनका दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वसाथ ध्यान दिने ।
७. गठबन्धनभित्र रहेका दलहरुबीच मात्रै चुनावी तालमेल गर्न पाउने ।