काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा युवा पुस्ताको असन्तुष्टि र जेनजी आन्दोलनलाई अराजकतामा जान नदिई लोकतान्त्रिक विधिबाटै व्यवस्थापन गरिएको बताएका छन् ।

भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले सडकको विद्रोहलाई शान्तिपूर्ण चुनावमार्फत सत्ताको नेतृत्वमा पुर्‍याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सफल भएको दाबी गरेका हुन् ।


ADVERTISEMENT

# #


‘सडकको विद्रोहदेखि सत्तासम्म’ शीर्षकको सत्रमा अर्थमन्त्री वाग्लेले नेपाल दक्षिण एसियाकै सबैभन्दा कान्छो जनसाङ्ख्यिक बनोट भएको देश रहेको उल्लेख गर्दै आधाभन्दा बढी जनसङ्ख्या ३० वर्षमुनिको रहेको तथ्य प्रस्तुत गरे ।

स्मार्टफोन र सामाजिक सञ्जालसँगै हुर्किएका डिजिटल नेटिभ युवाहरू परम्परागत राजनीतिक अवस्थासँग रुष्ट रहेको उनको भनाइ थियो । ‘हामी अत्यन्तै आशालाग्दो बहुदलीय लोकतन्त्रबाट एउटा घिनलाग्दो क्लिप्टोक्रेसी (भ्रष्टहरूको शासन) मा परिणत भएका थियौँ,’ पुराना दलहरूको आलोपालो र सत्ता स्वार्थप्रति लक्षित गर्दै उनले भने, ‘युवाहरू पुरानो सत्तासँग वाक्कदिक्क भइसकेका थिए ।’


ADVERTISEMENT

#
#


सामाजिक सञ्जाल प्रतिबन्धलगायतका विषयलाई लिएर भएको सडक प्रदर्शन र १९ जना युवाको ज्यान जाने गरी भएको दुखद घटनाले पुरानो सत्ताको अन्त्य गरेको उनले स्मरण गरे ।

सडक आन्दोलनपछिको ६ महिना पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सङ्क्रमणकालीन सरकार बनेको र त्यसले नेपालको इतिहासमै सबैभन्दा निष्पक्ष एवं शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएको डा. वाग्लेले बताए ।

रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहबीचको गठजोडले पुराना दलहरूको विकल्प खोजिरहेका जनतामा एक प्रकारको ‘इलेक्ट्रिक कम्बिनेसन’ पैदा गरेको उनको भनाइ छ ।

‘जनता पुरानो व्यवस्थासँग रुष्ट थिए, तर भरपर्दो विकल्प थिएन। जब बालेन शाह र रवि लामिछानेको नेतृत्वमा रास्वपा अघि बढ्यो, जनताले त्यसलाई पत्याए,’ रास्वपाका उपासभापतिसमेत रहेका अर्थमन्त्री वाग्लेले भने । सोही जनादेशका कारण अहिले तल्लो सदनमा पार्टीको झन्डै दुई-तिहाइ बहुमत रहेको र संघीय सरकारका १७ वटा मन्त्रालयको नेतृत्व सम्हालिरहेको उनले जानकारी दिए । विश्वका अन्य देशहरूमा भइरहेका युवा आन्दोलन र नेपालको अवस्थाबीच तुलना गर्दै वाग्लेले नेपालको जेनजी आन्दोलनले सुरक्षित र शालीन अवतरण गरेको दाबी गरे ।

‘अराजकता र हिंसाको बाटो रोज्दा जनताको समर्थन गुम्छ,’ विश्वभरका युवा पुस्तालाई सुझाव दिँदै उनले भने, ‘जतिसुकै असन्तुष्टि भए पनि परिवर्तनको अन्तिम विकल्प र लोकप्रियताको कसी भनेको शान्तिपूर्ण मतदान नै हो ।’ विश्वकै सबैभन्दा कान्छा प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारको कामकारबाहीबारे बोल्दै ६ महिनाको अवधिमा भ्रष्टाचारको एउटा पनि दाग नलागेको दाबी गरे ।

अर्थमन्त्री वाग्लेले भने, ‘हामीसँग परम्परागत राजनीतिज्ञहरू जस्तो सरकार सञ्चालनको लामो अनुभव नहोला र कहिलेकाहीँ सानातिना गल्ती पनि हुन सक्छन्, तर हामीमा अहंकार छैन, गल्ती सच्याएर अघि बढ्छौँ,’ ।