काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा तालमेलका लागि गठबन्धनबाट आफूले ६ महानगरमध्ये भरतपुरमहानगर नै मागेको कुरा भ्रमपूर्ण रहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार पत्रकार सम्मेलन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धनसँग महानगरको भागबण्डाका लागि माओवादीले भरतपुर नभई हुन्न नभनेको स्पष्ट पारे । उनले भने, ‘भरतपुर नै नभई भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो कुनै अडान होइन । ६ वटामा एउटा त माआवादीको भागमा पर्ने नै होला । गठबन्धनले काठमाडौँ दिन्छौँ भने पनि ठिकै छ । विराटनगर दिन्छु भने पनि ठिकै छ, भरतपुर दिन्नौँ भने पनि ठिकैछ भनेको छु मैँले ।’


ADVERTISEMENT

# # #


उनले थपे, ‘६ वटामा ६ वटै एउटैलाई दिने स्थिति पनि छैन । माओवादीलाई एउटा पनि नदिएर अरु सबै बाँड्नेस्थिति पनि छैन । गठबन्धन भइसकेपछि कम्तिमा एउटा त माओवादीलाई पर्ने नै भयो । त्यो एउटामा सजिलो जुन छ, त्यही भए हुन्छ भनेका छौँ हामीले ।’

प्रचण्डले गठबन्धनका अन्य दलहरुले पनि माओवादीलाई भरतपुर दिनु नै उचित हुन्छ भन्ने लागेको दाबी गरे । उनले आज बेलुकासम्म ६ वटै महानगर र ११ वटै उपमहानगरमा गरिने तालमेलका बारेमा एउटा निष्कर्षमा पग्ने बताए ।

उनले ६ वटामध्ये ३ वटा महानगरपालिका काँग्रेसले लिने र बाँकी रहेका ३ वटा महानगरपालिका माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले १–१ वटा लिँदा न्यापूर्ण हुने र निर्वाचन जितिने भएकाले यही कुरामा सहमति नजिक पुगेको जानकारी दिए ।

उनले भने, ‘म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु, आज बेलुकासम्म ६ वटै महानगरपालिका र ११ वटै उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने हामी प्रयासमा छौँ । र झण्डैझण्डै महानगर टुंगिनेको नजिक पुगेपछि म यहाँ पत्रकार सम्मेलन भएको हुनाले उठेर आएको छु ।’

यस्तै प्रचण्डले नगरपालिका र गाउँपालिकाको तालमेलका लागि अधिकार प्रत्यायोजना गरेर तल्लो संयन्त्रलाई दिएको र त्यसको रिपोर्टलाई केन्द्रीकृत गरेर टुंगोमा पुगिने उनले बताए ।

यस्तै उनले भागबण्डा नमिलेर एक्लाएक्लै भिड्नुपर्ने अवस्था आए माओवादी केन्द्र त्यसका लागि पनि तयार रहेको बताए । प्रचण्डले  यही ३० गते तोकिएको स्थानीय निर्वाचन कुनैपनि हालतमा नसर्ने समेत ठोकुवा गरे।