काठमाडौँ– पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेस नेता विमलेन्द्र निधिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने दाबी गरेका छन्।


ADVERTISEMENT


आज राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पहिलो चरणको निर्वाचनबाट काँग्रेसको बहुमत आउने संकेत देखिएको बताए । धनुषा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा उम्मेदवार रहेका उनी जिल्लाको चुनावी अभियानका क्रममा अस्वस्थ भई राजधानीको ओम अस्पतालमा आठ दिनको उपचारपछि सोमबार अस्पतालबाट घर फर्किएका हुन् ।


ADVERTISEMENT

# # #


नेता निधिले मुलुकका हरेक राजनीतिक परिवर्तन काँग्रेसकै नेतृत्व र अग्रसरतामा सफल भएको जानकारी गराउँदै भने, “तराई–मधेशका मुद्दा सम्बोधन गर्न पनि काँग्रेसले नै संविधान संशोधन प्रस्ताव अघि बढाएको हो । यहाँका जनता काँग्रेसलाई जिताउन आतुर छन् ।”

संविधानको प्रभावकारी कार्यान्वयन र मुलुक समृद्धिका लागि काँग्रेसकै नेतृत्व आवश्यक भएको उल्लेख गर्दै नेता निधिले भने, “तराई–मधेशलगायत जिल्लामा मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पनि काँग्रेसले अपेक्षा गरेअनुसारको मतपरिणाम आउँछ ।”

नेता निधिले आफूले जिल्लामा गरेका काम र तराई–मधेशका मुद्दा सम्बोधन गर्न राष्ट्रिय राजनीतिमा खेलेको मध्यस्थकर्ताको भूमिकाका कारण सहजै निर्वाचन जित्ने तर्क गरे ।

जनकपुरलाई प्रदेश नं २ को राजधानी बनाउन आफू उपप्रधानमन्त्री भएका बेलादेखि नै पहल गरेको अवगत गराउँदै उनले भने, “जनकपुरमा उच्च अदालत र प्रादेशिकस्तरको प्रहरी कार्यालय स्थापना भइसकेको छ, प्रदेशको प्रशासनिक कार्यालय स्थापना गर्न जनकपुर चुरोट कारखाना लिमिटेडको जग्गासमेत छुट्याइसकिएको छ ।”

उनले चुनावी तालमेलका लागि मधेश केन्द्रित दलसँग भएको सहमतिअनुसार संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरलाई काँग्रेसले इमान्दारीता देखाउँदै समर्थन गरेको अवगत गराए ।

फरक प्रसंगमा उनले कम्युनिष्ट दलहरु अधिनायकवाद स्थापना गर्न उद्यत भएपछि मुलुकका लोकतान्त्रिक शक्तिहरु काँग्रसको नेतृत्वमा एकबद्ध भएको बताए । विपक्षी दलका नेताको बोलीप्रति इङ्गित गर्दै नेता निधिले भने, “छाडा बोलीले कोही पनि प्रभावित हुँदैन ।” नेता निधि चुनावी प्रचार प्रसारका लागि आज धनुषामा छन् ।