उदयपुर– उदयपुरमा अज्ञात समूहले राखेको एम्बुस (विद्युतीय धराप) परी उम्मेदवारसहित चार जना गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT


प्रमुख जिल्ला अधिकारी चन्द्रमाण श्रेष्ठका अनुसार उदयपुरको प्रतिनधिसभा निर्वाचन क्षेत्र २ का नेपाली काँग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सहित ४ जना गम्भीर घाइते भएका हुन् । बुधबार बिहान उदयपुरगढी गाँउपालिका ६ मा पर्ने दनुवारवेसीमा भएको आक्रमणमा परी उम्मेदवार नारायणबहादुर कार्की, काँग्रेसका कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र उम्मेदवारका गाडी चालक राजन कार्की गम्भिर घाइते भएको श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


‘एम्बुस थापी आक्रमण भएको जानकारी आएको छ,’ प्रजिअ श्रेष्ठले भने, ‘चारै जना गम्भिर घाइते भएकाले काठमाण्डौबाट उद्धारको लागि हेलिकप्टर मगाइएको छ ।’ घटनालगत्तै जिल्लाको सुरक्षा समितिको बैठक समेत बस्दै छ । जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी प्रजिअ श्रेष्ठले जानकारी दिए । स्थानीय बासीका अनुसार गाडी पूर्ण रुपमा क्षति भएको छ ।

यसैबीच बुटवल उपमहानगरपालिका–८ वेश क्याम्पस्थित देवदह नगरपालिका–५ शितलनगरका गंगाप्रसाद उपाध्यायको मोटरसाईकल पार्टस पसलबाट २ सय ५० थान इलेक्ट्रिक कमर्सियल डेटोनेटर मंगलबार प्रहरीले बरामद गरेको छ ।

उक्त पसलमा अपरिचित व्यक्तिले झोला छाडेर गएको भन्ने पसल संचालकले जानकारी गराउनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटी गएको प्रहरीले झोलामा राखेको अवस्थामा उक्त डेटोनेटर फेला पारी बरामद गरेको हो ।

यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ नयाँसडकस्थित सिद्धार्थ राजमार्गमा कालो कपडाले बेरेको पोकामा तार बाहिर निकालेको अवस्थामा मंगलबार फेला परेको टाइम बम प्रहरीको समन्वयमा नेपाली सेनाको रणचण्डी गण भैरहवाबाट खटि गएको टोलीले डिस्पोज गरेको छ ।

मकवानपुर : मनहरी गाउँपालिका–१ चकरीमकरीस्थित कच्ची बाटोको बिचमा मंगलबार फेला परेको विष्फोटक पदार्थ प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।